ताजा समाचार:
Search

अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण

विकल्प न्यूज/बेनी
पुस १३ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो ।

एक्साभेटरको चार हजार सात सय रुपैयाँ प्रतिघण्टा र ब्रेकर प्रयोग गर्दा थप एक हजार रुपैयाँ प्रतिघण्टाका दरले कवोल गरेको कैलाश निर्माण सेवाको प्रस्ताव स्विकृत गरी सोही दररेट निर्धारण गरिएको अधिकृत पौडेलले बताउनुभयो । यसैगरी ब्याकुलोडरको प्रतिघण्टा दुई हजार ६५० रुपैयाँ दररेट कायम गरिएको छ ।

सूचिकृत हुन निवेदन दिएका ८ वटा मध्य दुई वटाले निवेदन फिर्ता लिएका थिए । सबैभन्दा कम दर कबोल गर्ने कम्पनीको प्रस्ताव स्विकृत गरी सोही अनुसार दररेट निर्धारण गरिएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

गाउँपालिकाले बजेट बिनियोजन गरेका हेभी इक्युभमेन्ट प्रयोग हुने योजनाका लागि कम दरमा कबोल गरेको निर्माण कम्पनीले भनेको समयमा उपकरण उपलब्ध गराउनुपर्नेछ । डेढ लाख रुपैयाँ धरौटी लिने र सम्झौता अनुसार काम नगरे धरौटी जफत गरी अन्य कुनै कम्पनीलाई जिम्मेवारी दिइने भएको छ ।

गाउँपालिकाको गत हप्ता बसेको कार्यपालिका बैठकले १५ लाख रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेका पूर्वाधार योजना ठेक्का मार्फत कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

पारदर्शीता, मितब्ययी र दररेटमा एकरुपता कायम गर्न हेभी इक्युभमेन्टको दररेट निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो । आयकर, भ्याट, निर्माण स्थल सम्म जादाँ र फर्कदा लाग्ने खर्च, चालकको भत्ता र खाना खर्च सबै आपूर्तिकर्ता कम्पनीलेनै ब्यहोर्न भएको छ ।

प्रतिस्पर्धा बिना हेभी इक्युमेन्टको प्रयोग गरिदा सार्वजनिक खरिद ऐनको प्रतिकुल हुने, उपभोक्ता समितिले कार्यक्षेत्रमा जाने बाटोमा हिडेको समेत भाडा तिर्नुपरेको र करको भार पनि समितिमै पर्दा समस्या देखिएको थियो ।

भाडादरमा एकरुपता नहुँदा एउटै स्थानमा काम गरेको डोजरको फरक÷फरक दरमा भाडा तिर्ने गरेका थिए । असारे विकासको समस्या न्युनीकरणका लागि बैशाख मसान्त अघिनै पूर्वाधार योजनाको काम सम्पन्न गर्ने लक्ष्य सहित डिजाइन, इस्टिमेट, उपभोक्ता समिति गठन र सम्झौता तथा ठेक्का प्रक्रिया अघि बढाइएको कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो ।