विकल्प न्यूज/बेनी
पुस १२ गते । जिल्लाको बेनी नगरपालिका ४ स्थित मुलुककै प्रख्यात प्राकृतिक उपचार स्थल तातोपानी कुण्ड भाडा दिने प्रस्तावको सर्वत्र विरोध भएको छ । कुण्डलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले भाडा लिनका लागि बेनी नगरपालिका सँग प्रस्ताव गरेको छ । मोनाको प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा यतिखेर तिव्र विरोध भइरहेको छ ।
सामाजिक सञ्जालमा नेकपाका नेता बालकृष्ण सुवेदीले गरिब जनताको अस्पताल निजी क्षेत्रलाई सुम्पीने कुराको विरोध भनेर लेख्नुभएको छ । उहाँको स्टाटस यस्तो छ गरिबको अस्पताल तातोपानी कुण्ड निजीक्षेत्रलाई सुम्पने कुराको बिपक्षमा मेरो अभिमत
यसै गरी नेकपाकै युवा नेता पुनम खड्काले पनि तातोपानीकुण्डलाई कुनै पनि हालतमा निजी क्षेत्रलाई दिननहुने बताउनुभएको छ । गरिब जनताको उपचारको केन्द्रलाई निजीकरण गर्नु प्राकृतिक रुपमा पनि राम्रो हुँदैन उहाँले भन्नुभयो । तातोपानी कुण्डलाई बेनीनगरपालिका र स्थानीयवासीहरुले नै सञ्चालन गर्नुपर्ने सरोकारवालाहरु बताएका छन् ।
पुनमले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छ ।
कुनै पनि हालतमा निजि कम्पनीहरूलाई दिनु हुदैन । त्यो गरिब जनताको उपचार केन्द्र हो । निजीकरण गरिने कुरो मान्य हुने छैन । प्राकृति उपचार केन्द्र बनाउनेतर्फ लागौ प्राकृति उपचार केन्द्र मा सूचीकरण गर्न सबै ले प्रयास गरौं । निजीकरण गर्ने होइन ।
यसै गरी तातोपानी कुण्डको निजीकरणको विरोध गर्दैै बेनीका दिपेन्द्र श्रेष्ठले पनि सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्नुभएको छ ।
मंगलबार बेनी नगरपालिकाका जनप्रतीनिधि, स्थानिय व्यवस्थापन समिती,स्थानयवासी र निजि मोना म्याग्दीका प्रतिनिधिहरुका बिचमा भएको छलफलमा निजि क्षेत्रबाट मोना आइईसिका अध्यक्ष चक्रबहादुर थापा र पुर्व अध्यक्ष एवम् संरक्षक योगेन्द्र क्षेत्री लागायतको टोलिले कुण्डलाई भाडामा दिन प्र्रस्ताव पेश गर्नुभएको थियो ।