ताजा समाचार:
Search

मालिकामा जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण सुरु

विकल्प न्यूज/बेनी
पुस १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले वडा स्तरमा घुम्ती शिविर सञ्चालन गरेर जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण सुरु गरेको छ ।

संबैधानिक व्यवस्था अनुसार अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले वडा न. १ निस्कोटबाट बिहीबारदेखि परिचयपत्र वितरण सुरु गरेको हो ।

उपाध्यक्ष बिटालुको अध्यक्षता, स्वास्थ्य संयोजक राजेश थापाको सञ्चालन र वडा सदस्य डिलकुमार पुनको स्वागत मन्तब्यमा भएको परिचयपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र वडा अध्यक्ष टंकप्रसाद पुनले लक्षित समुदायको सुबिधाका लागि परिचयपत्र वितरणसँगै विभिन्न सेवा सहितको शिविर सञ्चालन गरिएको बताउनुभयो ।
निस्कोटको शिविरमा ८१ जनालाई जेष्ठ नागरिक र १ जनालाई ग वर्षको अपाङ्गता पचिरयपत्र वितरण गरिएको उपाध्यक्ष बिटालुले जानकारी दिनुभयो । परिचयपत्र वितरणसँगै ८५ जनालाई स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण तथा ३० जना कृषकहरुलाई पशुपक्षीको औषधी र परामर्श सेवा दिइएको छ ।

यसैगरी गलेश्वर स्थित शशस्त्र प्रहरी बलको गुल्मका प्रहरी निरीक्षक काजी लामाको नेतृत्वमा गएको सुरक्षाकर्मी टोलीले निस्कोटमा विपद् व्यवस्थापन र उद्दारका लागि हेलीप्याड समेत निर्माण गरेको छ । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रकाश पाण्डेले निस्कोट माविका ८, ९ र १० का विद्यार्थीहरुलाई दूव्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

१८ गतेसम्म सञ्चालन हुने घुम्ती शिविर शुक्रबार ४ नम्बर वडा ओखरबोटमा हुने मालिका गाउँपालिकाले जनाएको छ ।