साधन राम्जाली मगर /विकल्प न्यूज
पुस १२ गते । पर्वतको जलजला गाउँपालिका–३ बेनीमा विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जलजला उद्योग बाणिज्य संघको सह आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
शान्तिसुरक्षा र प्रहरी गतिविधिका वारेमा गुनासो सुन्न,स्थानिय शान्ति सुरक्षा र लागु औषध दुव्र्यसनी नियन्त्रण तथा विभिन्न प्रहरी योजनाहरु जनस्तरमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पर्वत बेनीका स्थानीयहरुले भरपर्दो शान्तिसुरक्षाको व्यवस्थाका लागि माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागूऔषध नियन्त्रणका लागि कडाई गरेपछि पछिल्लो समय पर्वत बेनीमा लागूऔषधका गतिविधिहरु बढेको र नियन्त्रणका लागि प्रहरीको सक्रियता बढाउनुपर्नेमा स्थानीयवासीहरुले जोड दिएका थिए ।
राजमार्ग नजिक भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन बगरफाँटमा अस्थाई प्रहरी चौकी स्थापना गर्न र वारीबेनी प्रहरी चौकीमा प्रहरी निरिक्षकको संख्या थप गरि सुरक्षाकर्मीको संख्या बढाउन माग गरेका थिए । स्थानीयहरुले बसपार्कलाई पुनःसंचालनमा ल्याउन र ट्राफिक गतिबिधिलाई कडाई गर्न माग गरेका छन् ।
कालिगण्डकी नदिबाट उच्च जोखिम रहेकाले बजार संरक्षणका लागि पहल गरिदिन स्थानीयवासीहरुले जिल्ला प्रशासनलाई अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा स्थानियले उठाएको चासो, गुनासो र प्रश्नलाई सम्बोधन गर्दै प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले शान्ति सुरक्षालाई मजबुद बनाउन आफुहरु प्रयासरत रहेको बताउनुभयो । स्थानीयवासीहरुले उठाएका गुनासा र समस्याका वारेमा प्रहरी प्रशासन गम्भिर भएको उहाँले बताउनुभयो ।
उहाँले शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि प्रहरीले विभिन्न कार्यक्रम सहित निरन्तर लागिपरेको बताउदै स्थानियवासीहरुले पनि सूचना प्रवाह गरि साथ दिन आग्रह गर्नुभयो ।
उहाँले समाजमा प्रहरीको मात्र एक्लो प्रयासले शान्ति सुरक्षा मजबुद नहुने बताउदै शान्ति सुरक्षा कायम गर्न नागरिकहरुले पनि साथ दिनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विपद् व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो । प्रजिअ ढकालले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
याता गाउँपपालिका अध्यक्ष यामबहादुर मल्लले भने स्थानीय तह सँग कुनै समन्वय नगरी कार्यक्रम गरिएकोमा आपत्ति व्यक्त गर्नुभयो । गाउँपालिका भित्र गरिने जुनसुकै कार्यक्रमका बारेमा स्थानीय तह सँग समन्वय गरेर मात्र गरिनुपर्ने उहाँले बताउनुभयो ।
स्थानिय जनप्रतिनिधिको सहभागिता रहने गरि जनतासंग बृहत छलफल गर्ने गरी कार्यक्रम आयोजना गरौं भन्ने गाउँपालिकाको प्रस्तावलाई आयोजकले अस्विकार गरेको उहाँको भनाई छ । जवजस्ती रुपमा एकलौटी कार्यक्रमको अयोजना गरिएकाले आफुहरु असन्तुष्ट रहेको बताउनुभयो ।
प्रमुख अतिथि प्रजिअ ढकालको प्रमुख आतिथ्यता जलजला उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष चित्रलाल रेग्मीको अध्यक्षता तथा महासचिव शेषराज रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी म्याग्दीका उपाध्यक्ष डेकबहादुर सुनार, वडा नं४का अध्यक्ष टुङगनाथ शर्मा, प्रहरी निरिक्षक राजन राइमाझी र वारीबेनी प्रहरी चौकीका ईन्चार्ज असई ध्रुव बोहोरा लगायतको उपस्थिती रहेको थियो ।