म्याग्दीखोलामा पुल नहुँदा सास्ती

विकल्प न्यूज/बेनी
पुस १० गते । तस्विर धिरन खत्री

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ ।

स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ । बाबियाचौरको पानाबगर र अर्मनको हाँडेभिरमा म्याग्दी नदीको पानीलाई फिँजारेर बनाइएको जोखिमयुक्त बाटो हुँदै सवारी साधन वारपार गराइँदै आएको अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए । “हिउँदमा सवारी साधन खोलाबाटै वारपार गराइन्छ, अन्य समयमा सवारी आवागमन ठप्प जस्तै हुन्छ,” उनले भने।

हिउँदमा खोलामा जोखिम मोलेर बोलेरो, ट्र्याक्टरलगायतका सवारी साधन वारपार गराए पनि बर्खायाममा भने सवारी साधन वारपार गराउन नसकिने शिशुकल्याण माविका शिक्षक गोविन्द रोकाले बताए। “पुल नहुँदा सडक नभएजस्तै भएको छ”, उनले भने ।रासस