मंगलाको कुहुँमा आयोजित एकिकृत घुम्ति शिविरबाट आठ सय लाभान्वित

विकल्प न्यूज/बेनी
पुस ७ गते । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर १ कुहुँमा शनिबार आयोजना गरिएको एकिकृत घुम्ती शिविरबाट आठसय जना सर्वसाधरणहरु लाभान्वित भएका छन् । गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले शिविरको आयोजना गरेको हो ।

शिविर मार्फत दोहोरिएका समेत गरेर ७९८ जनाले गाउँमै नागरिकता, कृषि, पशु स्वास्थ्य, आयुर्वेद, स्वास्थ्य, जेष्ठ नागरिक, अपाङ्गता परिचयपत्र, घरेलु दर्ता, मतदाता परिचयपत्र दर्ता लगायतका सेवा लिएका मंगला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । सूचना अधिकारी आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको टोलीले ६० जनालाई नयाँ र चार जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको टोलीले २१० जना कृषकहरुलाई तरकारीको विउ र परामर्श सेवा दिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले १६४ जनालाई स्वास्थ्य परिक्षण, परामर्श र निशुल्क औषधि वितरणको सेवा दिएको छ । बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले ७० जनालाई सेवा दिएका छन । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ११० जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ ।

११ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । कार्यबिधि निर्माण गरी पहिलो पटक अपाङ्गता र परिचयपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत १३३ जना कृषकहरुको १३२८ पशुपंक्षीका लागि निशुल्क औषधि र परामर्श सेवा दिएको छ । जिल्ला निर्वाचन कार्यालयले २७ जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गरेका छन ।
चार जनाको जनजाती सिफारिस गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति मार्फत पाँच वटा फर्म दर्ता भएको छ । पूर्णगाउँ, कुहुँ, भरजुला, तुसारेपानी, हिदी, सल्यान क्षेत्रका बासिन्दाले शिविरबाट सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रोकाले ग्रामिण क्षेत्रका बासिन्दाको समय र आर्थिक बचत भएको र शिविर प्रभावकारी भएको बताउनुभयो । शिवीरको म्याग्दी जिल्ला अदालतका न्यायाधिश राजकुमार कोइराला,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,गाउँपालिका अध्यक्ष सतप्रसाद रोका,प्रहरी नायव उपरिक्षक वीर बहादुर बुढामगर, उपाध्यक्ष सिर्जना केसी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले संयुक्त रुपमा ४ वर्षीय बालक बीरवहादुर अर्मजालाई अपाङ्गताको परिचयपत्र वितरण गरेर शिवीरको सुभारम्भ गर्नुभएको थियो । सरकारी सेवालाई जनताको घरदैलोमै पु¥याउने अभियान स्वरुप एकिकृत घुम्ती शिवीर सञ्चालन गरेको उहाँले बताउनुभयो । तालिका बनाएर जिल्लाभर स्थानीयतहको समन्वयमा एकिकृत घुम्ती शिवीर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । यो वर्ष ६ स्थानमा शिविर आयोजना गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । धौलागिरि गाउँपालिकाको विकट गुर्जा,लुलाङ र रघुगंगाको पाखापानीमा शिवीर सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

शिवीरले नागरिकमा राज्यप्रतिको विश्वास बढेको उहाँले बताउनुभयो । कम खर्चमा सरकारी सेवा पाएपछि नागरिकहरुले सरकार घरदैलोमैमा आएका महशुस गरेका छन्, प्रजिअ अधिकारीले भन्नुभयो । शिविरमा जिल्ला अदालतले न्यायिक साक्षरता सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि गरेको छ । गाउँपालिकाका अध्यक्ष रोकाले जनतालाई घरदैलोमै सेवाप्रवाह गर्नका लागि शिवीरको आयोजना गरिएको बताउनुभयो । असक्त,ज्येष्ठ र धेरै पैसा खर्चिएर सदरमुकाम जान नसक्नेहरुले शिवीरबाट फाइदा लिएको उहाँले बताउनुभयो ।
गाउँपालिका भित्रको विकट गाउँका स्थानीयवासीहरुलाई घरदैलोमै छिटो छरितो ढङ्गले सरकारी सेवा दिलाउन शिवीरको आयोजना गरिएको उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । गाउँपालिकाले शिविर मार्फत पहिलोपटक ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । शिवीरबाट ज्येष्ठ नागरिक,महिला र अपाङ्गता भएकाहरुलाई फाइदा पुगेको स्थानीयवासी धनलाल रोकाले बताउनुभयो । घरदैलोमै सरकारी सेवा सुविधा पाउँदा खुसी लागेको कुहँुका दिर्घबहादुर खत्रीको भनाई छ ।