मंगला गाउँपालिकाको कुहुँमा एकिकृत घुम्ती शिवीर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुस ७ गते ।

म्याग्दीको पश्चिम मंगला गाउँपालिकाको १ नम्बर वडा कुहुँमा एकिकृत घुम्ती शिवीरको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा शनिवार एकदिने घुम्ती शिवीरको आयोजना गरिएको हो । शिवीरमा जिल्ला स्थित सरकारी कार्यालय र गाउँपालिकाले सेवा प्रवाह गरेका छन् । शिविरमा सेवा लिनका लागि स्थानीयवासीहरुको निकै भिडभाड लागेको छ । शिवीरको म्याग्दी जिल्ला अदालतका न्यायाधिश राजकुमार कोइराला,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,गाउँपालिका अध्यक्ष सतप्रसाद रोका,प्रहरी नायव उपरिक्षक वीर बहादुर बुढामगर, उपाध्यक्ष सिर्जना केसी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले संयुक्त रुपमा ४ वर्षीय बालक बीरवहादुर अर्मजालाई अपाङ्गताको परिचयपत्र वितरण गरेर शिवीरको सुभारम्भ गर्नुभएको थियो । गाउँपालिकाले अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण सम्बन्धी कार्यविधि निर्माण गरी पहिलोपटक परिचयपत्र वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद आचार्यले बताउनुभयो । त्यसैगरि शिवीरमा बेनी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले निःशुल्क स्वास्थ्य परिक्षण एवम औषधि वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट समेत आयुर्वेदीक उपचार सेवा प्रदान गरिएको छ । शिवीरमा नेपाल प्रहरीले सचेतनामुलक कार्यक्रम गरेको छ । शिविरमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले पशुचौपायको गोबर परिक्षण,कृत्रिम गर्भधान र पशुपंक्षी उपचार सेवा उपलब्ध गराएको छ ।

त्यस्तै कृषि ज्ञानकेन्द्र र सुन्तला जोन कार्यक्रमले किसानहरुलाई परामर्श सेवा दिएको छ । घरेलु तथा साना उद्योग विकास समितिले घरेलु उद्योग दर्ता सम्बन्धी परामर्श सेवा दिएको छ ।

ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।  सरकारी सेवालाई जनताको घरदैलोमै पु¥याउने अभियान स्वरुप एकिकृत घुम्ती शिवीर सञ्चालन गरेको उहाँले बताउनुभयो । तालिका बनाएर जिल्लाभर स्थानीयतहको समन्वयमा एकिकृत घुम्ती शिवीर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । यो वर्ष ६ स्थानमा शिविर आयोजना गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । धौलागिरि गाउँपालिकाको विकट गुर्जा,लुलाङ र रघुगंगाको पाखापानीमा शिवीर सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । शिवीरले नागरिकमा राज्यप्रतिको विश्वास बढेको उहाँले बताउनुभयो । कम खर्चमा सरकारी सेवा पाएपछि नागरिकहरुले सरकार घरदैलोमैमा आएका महशुस गरेका छन्, प्रजिअ अधिकारीले भन्नुभयो । शिविरमा जिल्ला अदालतले न्यायिक साक्षरता सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि गरेको छ । गाउँपालिकाका अध्यक्ष रोकाले जनतालाई घरदैलोमै सेवाप्रवाह गर्नका लागि शिवीरको आयोजना गरिएको बताउनुभयो । असक्त,ज्येष्ठ र धेरै पैसा खर्चिएर सदरमुकाम जान नसक्नेहरुले शिवीरबाट फाइदा लिएको उहाँले बताउनुभयो ।

गाउँपालिका भित्रको विकट गाउँका स्थानीयवासीहरुलाई घरदैलोमै छिटो छरितो ढङ्गले सरकारी सेवा दिलाउन शिवीरको आयोजना गरिएको उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । गाउँपालिकाले शिविर मार्फत पहिलोपटक ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । शिवीरबाट ज्येष्ठ नागरिक,महिला र अपाङ्गता भएकाहरुलाई फाइदा पुगेको स्थानीयवासी धनलाल रोकाले बताउनुभयो । घरदैलोमै सरकारी सेवा सुविधा पाउँदा खुसी लागेको कुहँुका दिर्घबहादुर खत्रीको भनाई छ ।