जलजलाको पाँचौ गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी
पुस ५ गते ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाको पाँचौ गाउँसभा विहिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा वसेको गाउँसभाले विभिन्न ८ वटा कार्यविधिहरु पारित गरेको छ । गाउँकार्यपालिकाद्धारा चालु आर्थिक वर्षमा निर्माण गरेका कार्यविधिहरु गाउँसभाले पारित गरेको हो । न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधि २०७५,घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि २०७५, सम्पत्ति तथा भूमि कर व्यवस्थापन कार्यन्वयन कार्यविधि २०७५,स्थानीय राजपत्र प्रकाशित कार्यविधि २०७५ गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो । यसै गरी गाउँसभाले व्यापारीक फर्म दर्ता,अनुमति, नविकरण,खारेजी,अनुगमन र नियमन कार्यविधि २०७५, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७५,उपभोक्ता समिति गठन,सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५ र करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । गाउँसभाले गाउँपालिका कार्यालय र वडामा रहने नागरिक वडापत्रको ढाँचालाई पनि पारित गरेको छ ।
चालु आर्थिक वर्षमा विनियोजन भएका केही योजना तथा कार्यक्रमको पुनरावलोकन सहित गाउँसभाले संसोधन गरी पारित गरेको गाउँपालिकाका प्रवक्ता देवेन्द्र बहादुर भण्डारीले बताउनुभयो ।

गाउँसभाले चालु आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको समिक्षा पनि गरेको छ । गाउसभामा अध्यक्ष यामबहादुर मल्लले योजना तथा कार्यक्रमहरुको सफल रुपमा कार्यान्वय गर्नका लागि सवै जनप्रतिनिधिहरुको प्रभावकारी भूमिका हुनुपर्ने बताउनुभयो । उहाँले पहिलो चौमासिकमा योजनाको कार्यान्वय सन्तोषजनक रहेको बताउँदै असारे विकासलाई अन्त्य गर्नका लागि तोकीएको समयमै योजनाहरु सम्पन्न गर्नका लागि जनप्रतिधिहरुलाई अनुरोध गर्नुभयो ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पहिलो चौमासिक वित्तिय प्रगति र उपलब्धीहरुका वारेमा गाउँसभामा जानकारी गराउनुभएको थियो । गाउँपालिका अध्यक्ष मल्लको अध्यक्षता,समाजिक विकास अधिकृत लिला सुवेदीको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत अधिकारीको स्वागतमा सम्पन्न गाउँसभामा वडाअध्यक्षहरुले आफ्नो वडा भित्रका योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्थाका वारेमा गाउँसभामा जानकारी गराउनुभएको थियो ।