विकल्प न्यूज/बेनी
पुस ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुस सहित डिभिजन वन कार्यालय म्याग्दीका एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुर सेवाग्राहीवाट नगद ३४ हजार रुपियाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन । बेनी नगरपालिका ७ स्थित सव डिभिजन वन कार्यालयमा रहेको आवसागृहको पुजा कोठामा काठ सम्बन्धी मुद्धा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय पोखराले जनाएको छ । अख्तियारको टोलीले आवश्यक कारवाहीका लागि आजै अधिकृत ठाकुरलाई पोखरा लगेको छ । नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता प्रकाश पौडेल र युवा नगेन्द्र जिसको सुचनाका आधारमा अख्तियारको टोली बेनी आएको हो । काठ मुद्धा मिलाइदिने भन्दै एक सेवाग्राहीलाई अधिकृत ठाकुरले पैसा मागेपछि ति सेवाग्रहीले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए । दुइहप्ता अघि विद्यार्थी नेता पौडेल सहितका युवाहरले भ्रष्टाचार र घुसखोरी विरुद्धको अभियान सञ्चालन गरेको घोषणा गरेका थिए ।