सिंगामा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज/बेनी
पुस ३ गते । बेनी नगरपालिकाको ४ नम्बर वडा सिंगामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । बेनी नगरपालिकाको आयोजना र संगम,कदम र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजीकरणमा वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिकाद्वारा पहिलो चौमासिकमा गरिएका विकासनिर्माण,सेवाप्रवाह,नागरिकको गुनासो,सुझाव र समस्या बुझनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नगरवासीहरुले कृषि,पशुपालन,शिक्षा,सिँचाई,खानेपानी,सडक र विद्युतका समस्या र सुभावहरु राखेका थिए ।

यसै गरी सहभागीहरुले फोहोरमैला व्यवस्थापन हुननसकेको, बेनी नगरपालिकाले विकासको खाका कोर्नुपर्ने,शिक्षक दरबन्दी मिलान र शुन्य दरबन्दीका विद्यालयका समस्याका वारेमा प्रश्नहरु राखेका थिए । कार्यक्रममा सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिँदै नगर प्रमुख हरिकुमार श्रेष्ठले स्थानीय तहलाई प्रदान गरिएका अधिकारहरु पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि कतिपय कानुन र ऐन बनिनसक्दा समस्या आएको बताउनुभयो । उहाँले नगरपालिकालाई विकाससित र समृद्ध बनाउनका लागि सवै नगरबासीहरुको सकरात्मक भूमिका हुनुपर्ने बताउनुभयो । उहाँले नागरिकका गुनासा र समस्या समाधान गर्न नगरपालिकाले भोलीका दिनहरुमा आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमा नेपाली काँग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुवेदी, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ,४ का गोविन्दप्रसाद पौडेल,५ का लक्षमण बानियाँ,कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, बेनपाका इन्जिनियर बिमल रञ्जन कार्की,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको सञ्चालन, उपमेयर सञ्जु बरुवालको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पत्रकार हरिकृष्ण गौतम र ठाकुरप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो । वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा  जनप्रतिनिधि र सर्वसाधारणहरुको   उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।