बेनी– लभ्लीहिल पदमार्ग निर्माण सुरु

विकल्प न्यूज/बेनी
पुस १ गते । शिलान्यास गरिएको तिनमहिना पछि बेनी– लभ्लीहिल पदमार्गको निर्माण सुरु गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त लगानीमा पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि करिब ७८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

बेनपा २ हाडेभिरको पक्की पुलबाट पदमार्ग निर्माण गरिने छ । बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिल सम्म पुग्नका लागि मोना – बेनी– लभ्लीहिल पदमार्ग नामाकरण गरिएको छ । तिनसय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न ७८ लाख रुपियाँ लागत अनुमान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । अवको चार / पाँच महिना भित्र निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

विभिन्न कारणहरुले गर्दा निर्माणमा ढिलाई भएपनि पदमार्ग निर्माणमा अव कुनै समस्या नभएको उहाँको भनाई छ । पर्यटकीय स्थलका रुपमा विकास हुनलागेको लभ्लीहिलको थप पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि पदमार्ग निर्माण गर्न लागिएको द्धितिय उपाध्यक्ष शाक्यले बताउनुभयो ।

पदमार्ग निर्माणमा नगरपालिकाले पचास प्रतिशत, मोनाले चालीस र उद्योग वाणिज्य संघले दश प्रतिशत लगानी गर्ने निर्णय भएको छ । लभ्लीहिलबाट म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी प्रवासी नेपाली संघ (मोना आइसी)का उपाध्यक्ष ओमनारायण जुग्जालीले गत भदौ ८ गते संयुक्त रुपमा पदमार्गको शिलान्यास गर्नुभएको थियो ।