ताजा समाचार:
Search

दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास ः पश्चिम क्षेत्रमा विकासको ढोका खुल्यो

विकल्प न्यूज/बेनी
मंसिर २८ गते म्याग्दीको पश्चिम क्षेत्रमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण सुरु गरिएको छ । आयोजना निर्माण सुरु गरे सँगै पश्चिम म्याग्दीमा विकासको ढोका खुलेको सरोकारवालाहरुले बताएका छन् । आयोजना निर्माण सुरु भएसँगै स्थानीयवासीहरु उत्साहित भएका छन् ।

म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्देली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेढले आयोजना निर्माण गर्न लागेको हो । म्याग्दीमा जन्मिएर रोजगारीको शिलशिलामा विभिनन मुलुकमा पुगेका म्याग्देलीहरुको सक्रियतामा आयोजना निर्माण हुन लागेको हो ।

आयोजनाको शुक्रवार मालिका गाउँपालिका–६ दुखुबेशीको बलौटेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले शिलान्यास गर्नुभएको छ । आयोजनाको शिलान्यास गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले जलविद्युत आयोजनाले जिल्लाको पश्चिम क्षेत्रमा विकासको ढोका खोल्ने बताउनुभयो । आयोजना निर्माणले स्थानीयस्तरमा रोजगारी सिर्जना र लगानीको अवसर प्राप्त हुने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो ।

जलविद्युतको विकासले जिल्लालाई समृद्ध बनाउन सकिने बताउँदै उहाँले आयोजनालाई सफल रुपमा सम्पन्न गर्नका लागि स्थानीय तह,राजनीतिक दल र स्थानीयवासीहरुको सहयोग हुनुपर्ने बताउनुभयो । रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा पुगेर आर्जन गरेको पुँजी र सीपलाई आफ्नै जिल्लामा लगानी गर्नु उदाहरणीय कार्य भएको उहाँको भनाई थियो ।
कार्यक्रममा म्याग्दीका प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले यस आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नको लागि आईपरेका समस्याहरुलाई हल गर्ने कार्यमा सबै सरोकारवालाबाट सहयोग हुने बताउनुभयो । उहाँले स्थानीयबासीलाई समेत जलविद्युत आयोजनामा लगानी र आफ्नो सीप अनुसार श्रम गरेर लाभ लिन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, पूर्व सभासद नवराज शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, र नेपाली काँग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले जलविद्यूत आयोजना निर्माणमा आईपरेका समस्या हल गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयका उचित मागहरुलाई सम्बोधन गर्दै निर्धारित समयमै आयोजनाको निर्माण कार्यलाई पूर्णता दिने गरि काम गर्न कम्पनीका संस्थापकहरुलाई आग्रह गर्नुभयो । मालिका गाउँपालिका–७ बिम , वडा नम्बर ५ देविस्थान र धौलागिरि गाउँपालिका–७को सिमा क्षेत्रमा रहेको फेदीमा आयोजनाको बाँध रहने छ । आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने धौलागिरि कालिका हाइड्रो लिमिटेढका अध्यक्ष विनोद कुँवरले बताउनुभयो । विदेशमा कमाएको पुँजी र सीपलाई जन्मथलोको विकासका लागि आयोजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण हुनेछ । आयोजनामा सानिमाको बैँकको अगुवाईमा प्रभु सहित अन्य ५ वटा वित्तिय संस्थासंग वित्तिय व्यवस्थापनको लागि सम्झौता भैसकेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । सानो सानो पुँजी लगानी गर्न स्थानीयवासीहरुलाई अवसर दिने उहाँले बताउनुभयो । स्थानीयवासीहरुको क्षमताले सके सम्म लगानी गर्नका लागि आयोजनाले ढोका खुला राखेको उहाँको भनाई थियो । आयोजनालाई समयमै सम्पन्न गर्नको लािग कम्पनीका अध्यक्ष कुँुबर सहित ज्ञानेन्द्र थापा, अमृत गौचन, चित्रबहादुर पुन, दलबहादुर भट्टचन, पूर्ण बहादुर कँुबर, हर्कमान घर्ति मगर सम्मलीत सञ्चालक समिति वित्तिय व्यवस्थापन सहितको तयारीमा जुट्नुभएको छ । आगामी ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु भएको आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्ति मगरले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादन हुने विद्युतलाई २९ किलोमिटर लामो दाना सबस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाले दरबाङको छेरछेरमा साईट कार्यालय निर्माण अघि वढेको छ । आयोजना निर्माणको लागि विद्युतगृह रहने रातोढुंगामा १६ रोपनी जग्गा अधिकरण गरिसकिएको छ भने सुरुङ क्षेत्रमा पर्ने दुखुबेसी लगायतको ठाउँमा आबश्यक जग्गा अधिकरणको काम भैरहेको आयोजनाले जनाएको छ ।