प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनको तयारी

विकल्प न्यूज/बेनी
मंसिर २७ गते । गण्डकी प्रदेशको सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि म्याग्दीको पूर्वाधार विकास सम्बन्धी योजनामा विनियोजन गरेको बजेट तथा योजना पाँच महिनापछि कार्यान्वयनको तयारी थालिएको छ । प्रदेश सरकार अन्तरगत स्थापना भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले योजना कार्यान्वयनका लागि तयारी थालेको हो ।

सडक, मोटरेबल पुल, खानेपानी, सिँचाई, नदी कटान तथा पहिरो नियन्त्रण र पर्यटन क्षेत्रको पूर्वाधार निर्माण योजनाका लागि विनियोजन भएको योजनाको कार्यान्वयन सुरु गरिएको हो । सडक र मोटरेवल पुल योजना कार्यान्वयनका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अख्तियारी आएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दी र मुस्ताङका सडक र पुल निर्माणका लागि चालु आर्थिक वर्षमा करिब २५ करोड रुपियाँ बजेट प्राप्त भएको कार्यालयले जनाएको छ ।

यस्तो छ म्याग्दीका योजना र रकमको विवरण
एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत
गलेश्वर – पिप्ले– भगवती हुँदै बेग जाने सडक ः दुइ करोड १० लाख ।
बेनी – दरवाङ– कल्लेनी– ताकम– मुना– जलजला ः दुइकरोड १० लाख ।
प्रादेशिक सडक ‘क’ बर्ग
बेनी – दरवाङ हुँदै देविस्थान धारापानी ताकम ढोरपाटन सडक ः एककरोड ३५ लाख ।
प्रादेशिक सडक ‘ख’ बर्ग
दरवाङ– दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ्ग हुँदै गुर्जा सडक ः एक करोड रुपियाँ ।
दरवाङ– विम–मराङवेसी–मल्कबाङ–पाखापानी सडक ः एक करोड रुपियाँ ।
दरवाङ–कल्लेनी ताकम लम्सुङ ढोरपाटन सडक ः एककरोड रुपियाँ
सडक पुल तर्फ
रीमा काफलडाँडा संसारीखोला सडक पुल ः ७५ लाख रुपियाँ
अर्कला मराङखोला पुल ः ७५ लाख रुपियाँ
छ्यरछारे म्याग्दी बेलीब्रीज ७५ लाख रुपियाँ
कल्लेनी सडक पुल ः ७५ लाख रुपियाँ

प्रदेश सरकारले म्याग्दीमा चार वटा मोटरेबल पुल बनाउन पचहत्तर लाख रुपैयाँका दरले तिन करोड बिनियोजन गरेको छ । बिम–मराङ सडकको अर्गला स्थित मराङखोला, दरवाङ–बिम–ताकम सडक अन्तरगत म्याग्दी खोला, दरवाङ दाङखोला धारापनी ताकम सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल निर्माणका लागि डिपिआरको काम सुरु भएको छ । डिपिआर आएपछि चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रियामा लगि काम सुरु गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो ।

सडक अन्तरगत ८ करोड ५५ लाख रुपियाँ विनियोजन भएको छ । सडक विभागले डिपिआर तयार पारेका योजनाको भेरीफाई गर्ने काम सुरु गरिएको छ । सवै सडक योजनालाई पुस महिना भित्र वहुवर्षीय ठेक्का प्रक्रियामा लगिने तयारी भएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।

महत्पूर्ण सडकमा पर्ने योजनाहरुको वहुवर्षीय ठेक्कामा लगिने उहाँले बताउनुभयो । योजना कार्यान्वयनका लागि प्राविधिक जनशक्ति कार्यालयमा आइपुगेका छन् प्रमुख ढुङ्गानाले भन्नुभयो “चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटलाई समयमै कार्यान्वयन गर्न जुटेका छौं ।”

कार्यालयमा ४ जना इन्जिनियर ६ जना सव इन्जिनियरको दरवन्दी रहेकोमा एकजना र एकजना सिनियर ल्याब टेक्नीसियन रहेका छन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुन र क्षेत्र (क) बाट निर्वाचित सांसद विनोद केसीको पहलमा उक्त बजेट जिल्लामा भित्रिएको हो ।

यसै गरी प्रदेश सरकारले विनियोजन गरेका वन,कृषि,जलस्रोत तथा सिँचाई लगायतका कार्यालयहरुले पनि योजना कार्यन्वयनको तयारी भएको जनाएका छन् ।