छैंटौ म्याग्दी महोत्सवको आम्दानी खर्च गुपचुप ! (पाठक प्रतिक्रिया)

विकल्प न्यूज/बेनी
मंसिर २४ गते ।

म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव सकिएको एकवर्ष हुँदा पनि आम्दानी खर्च सार्वजनिक गरेको समाचार पढ्न पाइएन । संघले गत वर्ष पुस २८ देखि माघ ७ गते सम्म छैटौं म्याग्दी महोत्सवको आयोजना गरेको थियो । अरुलाई शुसासन र आर्थिक पारदर्शीताको पाठ सिकाउने निजी क्षेत्र आफैले आम्दानी खर्च सार्वजनिक नगर्दा कस्तो सन्देश गएको होला ? म्याग्दी महोत्सव साच्चिकै सफल भएको सवैमा सर्वविदितै छ । तर अहिलेसम्म हिसाव किताब आम नागरिकहरुले जानकारी नपाउनु भनेको दुःखद कुरा हो । आयोजकले त्यतिवेला महोत्सव सकिएको १५ दिन भित्र आम्दानी खर्च सार्वजनिक गर्दछौ भनेको कुरा सञ्चारमाध्यमबाट सनेको थियौं । तर अहिले सम्म पनि सार्वजनिक नहुँदा हामी आम नागरिक अचम्मीत भएका छौं ।

महोत्सव गर्न स्थानीय तह देखि विभिन्न संघसंस्थाबाट चन्दा सहयोग संकलन गरिएको थियो । चन्दा सहयोग संकलन गरेर गरिएको महोत्सवको आम्दानी र खर्च सार्वजनिक गर्नुपर्दछ भनेर सायद भन्नु नपर्ने हो । निजी क्षेत्रले अरुलाई पाठ सिकाउनु पर्ने हो । महोत्सवलाई विभिन्न निकायले १६ लाखभन्दा बढी आर्थिक सहयोग गरेको त्यतिवेला समाचारहरुमा आएको हो । महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटकीय र ओझेलमा परेका क्षेत्रको प्रचारप्रसारका साथै लगानी भित्राउन सघाउने बताइएको थियो ।

अव हामीले जानकारी पाउन प¥यो महोत्सवले यी उपलब्धीहरु हाँसिल भएकी भएनन् ? आर्थिक पाटो एउटा होला तर महोत्सवको अरु उपलब्धीहरु के के भए भन्ने हामी म्याग्देलीहरुले जानकारी पाउने अधिकार छ की छैन ? आशा छ चाँढै नै महोत्सवको आम्दानी खर्च र उपलब्धीहरुका वारेमा सार्वजनिक हुनेछ । म्याग्दी उद्योग वाणिज्य संघको गरिमा र विश्वास सधै उच्च रहनेछ । रोशन पौडेल बेनी नवविकल्प साप्ताहिकमा प्रकाशित