ताजा समाचार:
Search

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजनाको शिलान्यास(फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर १६ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे ग्रामिण सडक स्तरउन्नती योजना सुरु गरिएको छ । पोखरेबगर–घार–खिवाङ–शिख हुँदै चित्र सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले आइतवार पुजापाठ गरेर शिलान्यास गर्नुभएको हो ।

सडक शिलान्यास पछि आयोजित कार्यक्रममा सांसद थापाले सडक निर्माण पछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जनताको आवश्यकता र चाहना बमोजिम योजना छनौंट गरिएकाले समयमै योजना सम्पन्न गर्नका लागि सवैको सहयोग आवश्यक पर्ने बताउनुभयो । सडकलाई नमुना बनाउनका लागि स्थानीय जनप्रतिनिधि र उपभोक्ताको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।  शिख, घार, खिवाङ, चित्रे, खोप्रा, घोडेपानी तथा पुलहिलको भ्रमणका लागि आउने आन्तरिक तथा वाह्यै पर्यटक साथै स्थानीयलाई लक्षित गरि सडक स्तरोन्नतीको योजना सुरु गरिएको सांसद थापाले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसीले योजनालाई समयमै सक्नका लागि स्थानीयको सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो । जसरी उत्साहित भएर सडकको शिलान्यास गरिएको छ त्यसैरी नै कार्यान्वयनमा पनि उत्साहित भएर जुट्न सांसद केसीले अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक गणेशराज वस्ती, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेकपाका जिल्ला नेता हरिकृष्ण श्रेष्ठ,नेपाली काँग्रेसका कार्यवहाक सभापति माधवप्रसाद रेग्मी, निर्माण व्यवसायीका प्रतिनिधि रामप्रसाद बन्जारा,अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरले योजना कार्यान्वयमा सवैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष क्या डमबहादुर गर्बुजा पुनको अध्यक्षता, जिल्ला समन्य समितिका अधिकृत गोविन्द सुनारको सञ्चालन र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख शिवराम गेलालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले ठेक्का सम्झौता मार्फत १८.५४० किमि सडक स्तरउन्नती गर्न लागेको हो । आगमी १८ महिना भित्र योजना सम्पन्न गर्नका लागि ठेकेदार कम्पनी मोतिदान जयमाता जेभी सँग २७ करोड ९१ लख ३५ हजार दुइसय २० रुपियाँमा सम्झौता भएको छ ।

वि.स २०७७ जेठको २२ गते भित्र योजना सम्पन्न गर्नुपर्ने गरि सम्झौता भएको आयोजना कार्यान्वय इकाईका प्रमुख गेलालले बताउनुभयो । योजना अन्तरगत १२.५ कालोपत्रे,दुइकिलोमिटर आरसीसी र ४ किमी स्ट्रोङ सोलिङ गरिने छ । ५.२५ मिटर चौढाई भएको सडकमा ३.७५ मिटर कालोपत्रे गरिने योजना छ ।