न्यू वेष्ट प्वाइन्टलाई १७ औं जेसीज कपको उपाधी

विकल्प न्यूज/बेनी
मंसिर १५ गते ।

म्याग्दीको बेनीमा शनिबार सम्पन्न अन्तर मावि जिल्लास्तरीय १७ औं जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी च्याम्पियन बनेको छ ।

म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा केबी एकेडेमी दरवाङलाई शून्यका विरुद्ध चार गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । केबी एकेडेमी पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । 

वेष्ट पोईन्टले तेस्रो पटक जेसीजकप हात पारेको छ । प्रतियोगिताको बिजेता र उपबिजेतालाई कप, मेडल र प्रमाणपत्र सहित नगद ४० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जेसीजका अध्यक्ष कमल विश्वकर्मा, संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

माविस्तरका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने जेसीजकप म्याग्दीको विद्यालय स्तरमा लोकप्रिय प्रतियोगिता मानिन्छ । मंसिर ११ गते देखि सुरु भएको प्रतियोगितामा १६ विद्यालयले सहभागीता जनाएका थिए । केबी एकेडेमीका नारायण प्रकाश पुन उत्कृष्ट खेलाडी,वेष्ट प्वाइन्टका मिनष श्रेष्ठ सर्वाधिक गोलकर्ता, सज्जन बराइली उत्कृष्ट गोलरक्षक, केबीका फविन पुन उत्कृष्ट डिफेन्डर, वेष्ट पोईन्टका मनिष श्रेष्ठ उत्कृष्ट स्टाईकर, वेष्ट प्वाइन्टका दिपेन पुन उत्कृष्ट मिडफिल्डर, केबीका ओमकार पुन राईजिङ प्लेयर, वेष्ट पोईन्टका खेल शिक्षक दिपेन राई उत्कृष्ट प्रशिक्षक र अनुशासीत टिमको उपाधी महेन्द्र रत्न मावि बरंजाले प्राप्त गरेका छन् । अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक हो ।बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उहाँका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विगत १७ वर्षदेखि बेनीमा निरन्तर रुपमा म्याग्दी जेसिजले चन्दा सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको छ । हुवावे मोवाइलका म्याग्दीका अधिकृत विक्रेता नरेश मोवाइल सेन्टरले प्रतियोगितालाई रु एकलाख रुपियाँ सहयोग गरेको छ ।