सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुसमा

विकल्प न्यूज/बेनी
मंसिर १४ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गते सम्म काठमाडौँमा हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको मुलुकी संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन गर्न लागिएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी गराएको हो । भदौ १ गते देखि लागू भएको मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिताको कार्यान्वयनमा देखिएका समस्याका वारेमा सम्मेलनमा छलफल हुने न्यायाधिवक्ता पन्तले बताउनुभयो । संहितामा उल्लेख भएका कतिपय कुराहरु व्यवहारिक रुपमा कार्यान्वयनमा समस्या आएको बताउँदै उहाँले संसोधनका लागि सम्मेलनले सुझाव दिने उहाँको भनाई थियो ।

‘यो पटक हामी पूर्ण रुपमा संहिता कार्यान्वयनमा केन्द्रित भएर राष्ट्रिय सम्मेलन गर्दैछौँ । नारा पनि संहिता कार्यान्वयनलाई केन्द्रित गरेर नै तय गरेका छौँ ।’ उहाँले भन्नुभयो । सरकारी वकिलको भूमिकालाई थप प्रभावकारी बनाउनका लागि सम्मेलन उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनको यो पटकको नारा ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ तय गरिएको छ । तीन दिनको सम्मेलनमा यसअघिको घोषणापत्रको समीक्षासँगै संहिता जारी भएपछि कार्यान्वयनका लागि सरकारी वकिलले निर्वाह गर्नुपर्ने भूमिकाका बारे छलफल हुनेछ ।

सरकारी वकिलको व्यवसायिक क्षमता अभिवृद्धिका आवश्यक योजनाका वारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । सरकारी वकिल कार्यालय मार्फत देशभर भएका कामकारवाहीका वारेमा पनि सम्मेलनमा समिक्षा हुने उहाँले जानकारी दिनुभयो ।

गत भदौ १ बाट नयाँ संहिता लागू भएपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको अनुसन्धान र अभियोजनबारे चरणबद्ध रूपमा सरकारी वकिललाई प्रशिक्षण समेत दिँदै आएको न्यायाधिवक्ता पन्तले बताउनुभयो ।  यसै गरी सर्वसाधारण नागरिकहरुमा सरकारी वकिल कार्यालयबाट प्रवाह हुने सेवासुविधाका वारेमा जानकारी दिन समुदायमा सरकारी वकिल भन्ने कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।

स्थानीय तह सँगको सहकार्यमा यो वर्ष ३ ठाउँमा कार्यक्रम गर्ने योजना भएको बताउँदै उहाँले अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ घारामा कार्यक्रम सम्पन्न गरिएको न्यायाधिवक्ता पन्तले जानकारी दिनुभयो ।

सहायक न्यायाधिवक्ता जिवनाथ सुवेदीको स्वागत नायव सुब्बा ध्रुव पोखरेलको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक वीरबहादुर वुढामगरको पनि उपस्थिति रहेको थियो ।