सामाजिक सुरक्षा योजना शुभारम्भ : म्याग्दीका मजदुरहरुले मनाए खुसियाली

प्रताप बानियाँ /बेनी
मंसिर ११ गते ।
सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरहरुले खुसियाली मनाएका छन् ।निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुलाई लक्षित गरेर ल्याइएको सामाजिक सुरक्षा योजनाको म्याग्दीमा कार्यरत मजदुरले मैनबत्ती प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् ।

सदरमुकाम बेनी बजारमा रहेको क्याम्पस चोकमा जम्मा भएका मजदुरहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५–८–११ को स्वागत गर्दछौँ’ भन्ने लेखेर मैनबत्ती प्रज्ज्वलन गरेका थिए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र क्युपेक म्याग्दीको अगुवाइमा सामाजिक सुरक्षा योजनाको स्वागत कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिफन्टका जिल्ला अध्यक्ष बलादेवी राईले मजदुरहरुको तर्फबाट सामाजिक सुरक्षा ऐन ल्याउन ठूलो संघर्ष गरिएको बताउनुभयो । उहाँले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएर मजदुरहरुको हित गरेको बताउँदै अझै पनि सङ्गठित क्षेत्रबाहेक अन्यत्र धेरै मजदुरहरु समस्यामा रहेकाले सामाजिक सुरक्षा ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

यसअघि सरकारी सेवामा रहेकाले मात्र पेन्सन वा उपदान पाउने भए पनि अन्य श्रमिकले यस्तो सेवा पाउनबाट बन्चित हुँदै आएका थिए । अब भने निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि सामाजिक सुरक्षा भक्ता पाउने व्यवस्था ल्याइएको हो । सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले अब यो व्यवस्था गरेको हो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयंले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिनसक्ने व्यवस्था गरिएको छ । पेन्सन योजना आउँदो २०७६ साल साउन एक गतेपछि मात्रै लागू हुनेछ ।