शिक्षक पेशा सँगै मौरीपालनमा अब्बल

विकल्प न्यूज/बेनी
मंसिर ७ गते । DSC_0175म्याग्दीको बेनी नगरपालिका ५ डडुवाका एक शिक्षकले सरकारबाट पाउने तलब भन्दा दुईगुणा वढी मौरीपालन व्यवसायबाट कमाउनुहुन्छ । दुईदशक अघिबाट मौरीपालन व्यवसाय गर्दै आउनुभएका शिक्षक मिनवहादुर खत्री जिल्लामै अब्बल मौरीपालक कृषकका रुपमा नाम कमाउनुभएको छ । उहाँले नाम सँगै मनग्य दाम पनि कमाउन सफल हुनुभएको छ ।

२०५१ सालबाट शिक्षक पेशामा आवद्ध उहाँ त्यसभन्दा एकवर्ष अघिबाट मौरीपालन सुरु गर्नुभएको हो । शिक्षक पेशालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायलाई पनि सफल रुपमा अगाडि बढाउनुभएको छ ।

शिक्षक खत्रीलाई र उहाँको पत्नी रामकुमारीले साथ दिदै आउनुभएको छ । मौरीपालन व्यवसायबाट वार्षीक सातलाख रुपियाँ भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालन व्यवसायका विषयमा सुनेपछि आफूले मौरीपालन सुरु गरेको उहाँको भनाई छ ।

कृषि व्यवसायमा रुचि भएका कारण मिनबहादुरले मौरीपालनका विषयमा रेडियोबाट सुनेपछी तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा गएर जानकारी लिएको उहाँको भनाई छ । कृषि विकास कार्यालयमा मौरीपालनसम्बन्धी कुनै पनि कार्यक्रम नभएपछि त्यसपछि उहाँले भकिम्लीमा पुगेर तीनसय रुपैयाँमा मौरीपालनका लागि एउटा काठको घार खरिद गरेर ल्याउनुभएको थियो । पछि गाउँबाटै सातसय रुपैयाँमा मौरीसहितको घार किनेर मौरी पाल्न सुरु गरेको उहाँले बताउनुभयो । एउटा घरबाट सुरु गर्नुभएको खत्री परिवार आज जिल्लामै नमुना मौरीपालक कृषकका रुपमा चर्चित हुनुहुन्छ ।

सुरुमा तीनवटा घारमा मौरीपालन सुरु गरेका खत्री दम्पतिले २०६० सालसम्म मौरी मात्रै बिक्री गर्दै आए पनि त्यसपछि मह, मौरीसहितका घार र महका पोला बिक्री गरेको बताएका छन् । अहिले उनीहरुसँग डडुवासहित विभिन्न स्थानमा गरी कुल ७२ ओटा मौरीका घार रहेका छन् । डडुवामा आफ्नै घरमा १५, भीरमुनीमा १६, सल्यान र नेप्टेचौरमा १५÷१५, चिप्लेटीमा ७ र गाजनेमा ४ ओटा मौरीका घार रहेको मौरीपालका कृषक रामकुमारी खत्रीले जानकारी दिएकी छिन् । ती ठाउँमा रहेका सबै घारमा मह उत्पादन भैरहेको छ । अरु पेशा व्यवसाय भन्दा मौरीपालन व्यवसाय सजिलो र धेरै आम्दानी पनि हुने भएकाले व्यवसायलाई निरन्तरता दिएको उहाँको भनाई छ ।

खत्री दम्पतिले सिद्धीविनायक मौरीपालन केन्द्र दर्ता गरी स्थानीय एपिसेरेना जातको मौरी व्यावसायिक रुपमा पाल्दै आइरहेका छन् । डडुवामा उत्पादित मह खरिद गर्नका लागि फोन सम्पर्क गरेर व्यापारीहरु घरमै आउने गरेको कृषक खत्रीको भनाइ छ । विदेश जानेहरु तथा उनीहरुका आफन्तहरुले पनि मह खरिद गरेर लैजाने र पठाउने गरेका छन् । आफ्नो घरमा मह किन्न विदेशी पर्यटक जापानबाट समेत आएको रामकुमारीले बताएकी छिन् । डडुवामा उत्पादन भएको मह म्याग्दीसहित मुस्ताङ, पोखरा, काठमाडौं हुँदै कोरिया, साउदीअरब, बहराईन, कतार र युरोपका देशमा पुग्ने गरेको छ ।

माग अनुसार मह आपूर्ति गर्न नसकेको बताउँदै कृषक खत्रीले बिक्रीका लागि बजारको समस्या नभएको बताउनुभयो । प्रतिकेजी महलाई एकहजार पाँचसय रुपैयाँका दरमा बिक्री गर्ने गरेको उहाँको भनाई छ । अनुसार मौरीसहितको घारलाई सातहजार पाँचसय र मौरी मात्रै चारहजार रुपैयाँमा बिक्री हुँदै आएको छ । मह, मौरीका पोला, मौरीसहितका घार र मौरी बिक्रीबाट वार्षिक सातलाख रुपैयाँ आम्दानी हुने गरेको उद्यमी रामकुमारी खत्री बताउनुहुन्छ ।

अनुकुल मौसम, प्रशस्तै फुल फुलेको समय, मजबुत गोला भएमा उत्पादन अत्यधिक हुने र वार्षिक सरदर न्युनतम डेढ क्वीन्टलदेखि दुई क्वीन्टल बढी मह मात्रै बिक्री गर्न सकिने कृषक मिनबहादुरले बताउनुभयो । हरेक वर्षको जेठ, मंसिर र चैत महिनामा मह निकाल्ने गरिन्छ । मौरीलाई मह बनाउनका लागि तोरी, पैयुँ, गुराँस, जनमन्द्रो, चुत्रो, औसलु, धाईरो, मथाइनो, चिउरी, दुधिलोलगायत फुलहरुको आवश्यक पर्दछ ।