विकल्प न्यूज/ बेनी
मंसिर ५ गते । कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी ३५ बर्षिया सिता केसी घिमिरेका दुई छोरीले शैक्षिक अभिभावक पाएका छन् ।
गत महिना नेपालीको महानपर्व दसैंको दिनमा जन्मदिने आमाको मृत्यु भएपछि १३ बर्षिया सन्ध्या र ८ बर्षकी साधना घिमिरेको जीवनयापनमा ठूलो समस्या देखिएपछि सुरू भएको अभियानमा शैक्षिक साम्रागी, झोला, स्कुल पोशाक सहयोगका साथै प्लस टू सम्मको शिक्षाका लागि शैक्षिक अभिभावक पाएका छन् । एक्कासी जटिल रोगबाट देखिएपछि उपचारकै क्रममा चिकित्सको सल्लाहमा घरमा आराम गरिरहेकी सिताको मृत्यु भएपछि शिक्षादिक्षामा देखिएको समस्याका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित भएपछि बेनपा–२ आम्बोट घरभई हाल बागलुङमा सफल पोलिक्लिनिक प्रालिका सञ्चालक दिपेन्द्र घिमिरेले सन्ध्यालाई स्नातकतहसम्मको शिक्षा र पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वतबेनीमा अवस्थित न्यू् होराईजन आवासीय माविले साधनलाई माध्यामिक तहसम्मको निशुल्क शिक्षाको सुविधाका साथै स्वदेश तथा विदेशबाट आर्थिक, स्टेशनरी, लत्ताकपडा सहयोग गरेपछि दुवै बालिकाको शिक्षामा सहज भएको छ ।
https://www.youtube.com/watch?v=ddTZHi9jUHY
बुधबार सदरमुकाम बेनीस्थीत बालगृहमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको उपस्थितीमा उच्च शिक्षासम्मको जिम्मेबारी लिने संस्था र ब्यक्ति तथा विभिन्न सहयोगका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रजिअ अधिकारीले म्याग्दी जिल्लामा आर्थिक समस्याका कारण उपचार र शिक्षादिक्षामा परेको समस्यालाई समाधान गर्ने अभियान सिंगो देशका लागी नमुना भएको बताउनुभयो ।
उहाँले आर्थिक सहयोगलाई सार्वजनिक कार्यक्रम गरी पीडितका आफन्तको उपस्थितीमा हस्तान्तरण गर्ने कार्यको समेत प्रशंसा गर्नुभएको थियो । बेनपा–२ का वडा अध्यक्ष हिरा बहादुर थापाले जन्मदिने आमालाई गुमाएपनि शिक्षादिक्षाको जिम्मा लिने अभिभावक पाएका बालिकालाई वडा कार्यालयबाट समेत सहयोग हुने बताए । सोही अवसरमा बागलुङको प्रतिष्ठित निजी स्वास्थ्य संस्था सफल पोलिक्लिनिक प्रालिका सञ्चालक दिपेन्द्र घिमिरेले आर्थिक अभावले शिक्षादिक्षामा देखिने समस्यालाई नजिकबाट महसुस गरेको बताउनुभयो । ‘सन्ध्यालाई मैले चिकित्सक बनाउने सपना बोकेर जिम्मा लिएको छु,‘उनलाई शिक्षामा कुनै कमी हुदैन’ घिमिरेले भन्नुभयो । उहाँले उच्च शिक्षाको क्रममा आफुँले आर्थिक अभावमा बीचमै पढाई छोड्नु परेको बताउँदै आफ्नो ब्यवसायको केही हिस्सा अभिभावकविहिन बालबालिकालाई सहयोग गर्ने बताउनुभयो ।
सोही अवसरमा सन्ध्या र उनकी बहिनीको शिक्षादिक्षाका लागी अन्नपूर्ण गाउँपालिका–६ घार स्थायी घरभई हाल अस्टेलियामा रहेका बद्री र केदार बरुवालले स्वर्गीय दिदी रेखाको स्मृतिमा स्थापना गरेको रेखा स्मृति कोषबाट पोशाक, लत्ताकपडा, स्टेशनरी खरिदका लागी २० हजार, एनआरएनए हङकङकी अध्यक्ष टिका गुरूङ १५ हजार, बेनपा–५ पुलाचौर हाल न्युजिरल्याण्डमा रहेका लोकनाथ पौडेल १२ हजार २७५ रुपैयाँ,रघुगंगा गाउँपालिका–१ बेगखोला हाल यूके रहेका नक्कु र तारा पुर्जाबाट १० हजार, अस्टेलियाबाट डिल्लीराम शर्माको संयोजकत्वमा २५ हजार, मालिका गाउँपालिका २ रुम बेली हाल इजरायल रहेकी विष्णु पुनमगर ५ हजार, विटेक कम्प्यूटर हाउसका सञ्चालक धुव्रराज कार्की ५ हजार,म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा ३ हजार, जयमाँ लक्ष्मी सुनचाँदीका रामजी विश्कर्मा ३ हजार, काठमाण्डौबाट राधा श्रेष्ठको पहलमा स्टेशनरी लगाएतको सहयोग प्राप्त भएको जानकारी गराइएको थियो । कार्यक्रममा पत्रकार हरिकृष्ण गौतमले सामाजिक पत्रकारिताले मानवीय सेवा सिकाएको बताउँदै सहयोगदातालाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा बाल संगठनका सभापति नेत्र बहादुर महत, रोटरी क्लव बागलुङकी अध्यक्ष विना कार्की,सफल पोलिक्लिनिक प्रालिकी प्रशासकीय अधिकृत तारा शर्मा, रेखा मेमोरियल ट्रष्टका प्रतिनिधि सुजन बरुवाल न्यू होराइजन आवासीय माविका सञ्चालक समितिका अध्यक्ष दल बहादुर जिसी, निमित्त प्रधानध्यापक अर्जुन पौडेल,लेखा समिति संयोजक शेषराज रेग्मी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता देबेन्द्र घिमिरे र सञ्चालन धुव्रराज कार्कीले गर्नुभएको थियो । यसैबीच सन्ध्या र साधनलाई विद्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष जिसीले दुवै विद्यार्थीलाई कुनै समस्या हुन नदिने बताउँदै अभिभावक गुमाएका बालबालिकाको आगमनले अन्य विद्यार्थीलाई नैतिक शिक्षाको अवसर मिलेको बताउनुभयो । विद्यालयले साधनालाई विद्यालयले निशुल्क शिक्षा दिने घोषणा गरेको छ । कार्यक्रमको सञ्चालन प्लस टु संयोजक नारायण पौडेलले गरेका थिए । गाउँकै सामुदायिक विद्यालयमा अध्ययरत दुवै बालिकालाई घरमा दैनिक स्वर्गीय आमालाई सम्झिएर खाना समेत नखाने, रुदैं बस्ने जस्ता समस्यालाई समाधान गर्न सदरमुका बेनीमा सीता उपचार अभियानका संयोजक एवम् आफन्त देबेन्द्र घिमिरेले आफ्नै घरमा राखेर पढाउने बताउँदै सहयोगदातालाई धन्यवाद दिएका थिए । विद्यालयमा विद्यार्थीले समेत सन्ध्या र साधनालाई स्वागत गरेका थिए ।