प्रताप बानियाँ / बेनी
मंसिर ५ गते । सशस्त्र द्वन्द्वको समयमा अपाङ्ग भएर संघर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरुको आज म्याग्दीमा फोटो प्रदर्शन भएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरुको फोटो प्रदर्शनी गरिएको हो ।
विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको अवसरमा बुधबार दशवर्षे सशस्त्र द्वन्द्वलगायतका घटनामा परेर अङ्गभङ्ग भएका नागरिकहरुको जीवनीसहितका फोटो तथा पृष्ठभूमि प्रर्दशन गरिएको थियो ।त्यसैअवसरमा द्वन्द्वको क्रममा अपाङ्ग बनेका व्यक्तिहरुले समाजमा भोगेका कथाव्यथा, पीडा र भोगाइलाई पन्छाउँदै अगाडि बढेका संघर्षका कथाहरु समेटिएको ‘१४ कथाहरु : युद्धका जीवित स्मृतिहरु’ भन्ने पुस्तक पनि विमोचन भएको छ । खत्रीले बाख्रा चराउन गएको बेला बम पड्किएर दुवै हात गुमाउनुभएको थियो भने श्रेष्ठले २०६० साल चैत ७ गते भएको म्याग्दी भिडन्तमा परेर एउटा खुट्टा गुमाउनु भएको थियो । म्याग्दी भिडन्तमा ठूलो जनधनको क्षति भएको थियो । पुस्तकको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विमोचन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सरकारी अधिकारीहरु, जनप्रतिनिधि, क्याम्पस तथा विद्यालयका प्राध्यापक, शिक्षक र विद्यार्थी, सरोकारवाला व्यक्ति एवं संघसंस्थाका प्रतिनिधिहरुले फोटो अवलोकन गरेका थिए ।
फोटो प्रर्दशनीमा देशभरका १४ जनामध्ये म्याग्दीका दुईजना द्वन्द्वपीडितको फोटो कथा समेटिएको छ । तत्कालीन द्वन्द्वको समयमा बम पड्किएर दुवै हात गुमाएर संघर्षपूर्ण जीवन बिताउन बाध्य ३२ वर्षीय सुरेन्द खत्री र ६७ वर्षीय कृष्णलाल श्रेष्ठको वृत्तचित्र प्रर्दशन गरिएको थियो । कार्यक्रममा बोल्दै म्याग्दीका प्रजिअ अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई आफन्तले मायाममता दिएर पुनसर््थापना गरेको हुँदा समाजमा सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले द्वन्द्वपीडित व्यक्तिहरुलाई स्थानीय तहको तर्फदेखि आवश्यक सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । द्वन्द्वका १४ जीवित स्मृतिहरुको कथा रहेको वृत्तचित्र देशभर प्रर्दशन गरिएको जनाइएको छ । अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले द्वन्द्वकालमा घाइते बनाइएका र अपाङ्गता भएका व्यक्तिहरुको पीडालाई सबैमाझ ल्याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । साभार ः उज्याले अनलाइन