म्याग्दीको सर्वपक्षीय टोलीले अर्थमन्त्रीलाई बुझायो ज्ञापन पत्र (भिडियो सहित)

विकल्प न्यूज / काठमाण्डौ
मंसिर ५ गते । DSC_0002महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको नेतृत्वमा पुगेको म्याग्दीको सर्वपक्षीय टोलीले बुधवार संघिय सरकारका अर्थमन्त्री युबराज खतिवडालाई म्याग्दी जिल्लाको विकास निर्माण लगायतका मागहरु राखी ज्ञापन पत्र बुझाएको छ ।

जिल्लामा निर्माणधिन अवस्थामा रहेका योजनाहरुमा चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको भन्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद,पूर्व सभासद,जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि सहभागि भएको सर्वपक्षीय टोलीले जिल्लाको भौतिक पूर्वाधार,विपद व्यवस्थापन,उर्जा,सडक तथा खानेपानी लगायतका योजनाहरुमा आवश्यक बजेटको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको संरक्षण, कालिगण्डकी करिडोर सडक अन्तर्गत बेनी जोमसोम कोरला सडक आयोजना र बेनी दरवाङ सडक निर्माणलाई तिव्रता दिने मुख्य माग लगायत जिल्लाका अन्य समस्याहरु लिखित रुपमा ज्ञापन पत्रमा समावेश गरी अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा समानुपातिक रुपमा जिल्लालाई बजेट विनियोजन नभएकोप्रति पनि अर्थमन्त्रीलाई ध्यानकर्षण गराइएको उहाँले बताउनुभयो । सर्वपक्षिय टोलीले बुझाएको ज्ञापन पत्रमा उल्लेखित मागहरु सम्बोधन हुने अपेक्षा व्यक्त गरिएको उहाँले बताउनुभयो ।
जिल्लाबाट आएको टोली मार्फत विभिन्न मन्त्रालय र विभागहरुमा पेश गरिएका मागलाई आगमी आर्थिक वर्षमा प्रस्तुत हुने बजेटमा समावेश गर्न आफूले सक्दो पहल गर्ने मन्त्री थापाले बताउनुभयो । DSC_0015यसअघि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का समेत लागेको बेनी दरवाङ सडकलाई जलजला पूर्वी रुकुम सम्म कायम गरी संघिय सरकारकै मातहतमा राखी बजेट व्यवस्था गर्नुपर्ने, निर्माणधिन राष्टीय गौरबको आयोजना राहुघाट जलविद्युत आयोजनाको निर्माणले हाल सम्म पनि गति लिन नसकेको र उक्त आयोजना निर्माणमा भएका समस्याहरुलाई समाधान गरी निर्माणमा तिव्रवता ल्याउन आवश्यक सहयोग गरिदिन अर्थमन्त्री समक्ष अनुरोध गरिएको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले बताउनुभयो ।

यसै गरी टोलीले राष्टिय गौरबको कालिगण्डकी करिडोर आयोजना अन्तर्गत बागलुङ जिल्लाको मालढुङगा देखि म्याग्दी जिल्लाको गलेश्वर सम्म सडकमा सिमांकन समेत नभई निर्माण कार्य हुननसकेको हुँदा उक्त आयोजनाको आधार कालीगण्डकी नदीको पश्चिम किनारालाई नै मानी बागलुङ जिल्लाको मालढुङगा देखि बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौर देखि बेनी बजार हुँदै गलेश्वर सम्म सिमांकन कायम गरी निर्माण कार्य अगाडि बढाउने कार्यमा सहयोग गरिदिन अर्थमन्त्री खतिवडा समक्ष सर्वपक्षीय टोलीले माग गरेको छ ।

कालिगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सडकको निर्माण कार्य हाल सुस्त गतिमा भएकाले तिव्रता दिन मन्त्री खतिवडाको ध्यानकर्षण गरिएको प्रदेश सांसद विनोद केसीले बताउनुभयो ।

टोलीले कालिगण्डकी करिडोर अन्तर्गत सडक सिमा भित्र पर्ने घरजग्गा धनीले उचित मुआब्जा पाउन नसकेकोप्रति पनि मन्त्री खतिवाडालाई टोलीले ध्यानकर्षण गराएको छ । बागलुङ बेनी गलेश्वर सडकलाई यसै वर्ष भित्र कालोपत्र गरीसक्न आवश्यक सहयोगका लागि अर्थमन्त्री समक्ष माग गरेको छ । बेनीमा रहेको वसपार्क निर्माण,वृहत खोप्टेखोला खानेपानी र भगती पिप्ले चिमखोला खानेपानी आयोजनालाई समयमै सक्नका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्री समक्ष माग

राखेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । टोलीको माग पत्र बुझ्दै अर्थमन्त्री खतिवडाले म्याग्दीको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा समानुपातिक रुपमा बजेट नपरेका जिल्लामा विशेष अनुदानको व्यवस्था गरी सम्बोधन गर्ने उहाँले बताउनुभयो ।
बेनी नगरपालिकाको संयोजनमा आईतवार राजधानी पुगेको सर्वपक्षीय टोलीले सोमवार र मंगलबार विभिन्न मन्त्रालय र विभागहरुमा नगर तथा जिल्लाको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मागपत्र पेश गरेको थियो ।

 

सोमवार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाको नेतृत्वमा टोलीले उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुन,भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डीतलाई भेटी जिल्लाको समस्याहरुका वारेमा जानकारी गराउनुका साथै मागपत्र पेश गरेको थियो ।
माग पत्र बुझ्दै उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री पुनले बेनी बजार संरक्षणका लागि मन्त्रालयको ध्यानकर्षण भएको बताउनुभयो । टोलीले राखेका मागहरुमा मन्त्री ज्यू सकरात्मक हुनुभएको प्रतिनिधिसभाका सांसद थापाले बताउनुभयो । साथै मन्त्री पुन समक्ष रघुगंगा जलविद्युत आयोजनाको प्रगतिका वारेमा पनि मन्त्रीलाई जानकारी गराएको पूर्व सभासद गोविन्द पौडेलले जानकारी दिनुभयो । टोलीले रघुगंगा नदीमा आएको वाढीले रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा पुराएको क्षति र रोकथामका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको छ । DSC_0077टोलीले खानपानी तथा ढल निकास विभाग,जलस्रोत तथा सिचाँई विभाग,शहरी विकास तथा भवन निर्माण विभागमा पुगी जिल्लाको समस्याका वारेमा माग पत्र पेश गरेको पूर्व सभासद रेशमवहादुर बानियाँले जानकारी दिनुभयो ।

टोलीले कालीगण्डकी नदीमा भर्दौ २६ गते आएको वाढीका कारण पक्की तटबन्धन भत्काएको र यसको दिर्घकालिन समाधानका लागि आवश्यक बजेटको व्यवस्थापन गरी चाँढो सक्न जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सरोज पण्डित समक्ष अनुरोध गरेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नदी कटनबाट बेनी बजारलाई जोगाउन आयोजनाले चाँढो काम थाल्नुपर्ने जानकारी हामीले गराएका छौं मेयर श्रेष्ठले भन्नुभयो “ बाढीले भत्काएको एकसय २० मिटर मा पुन डिजाइन स्टीमेट गरी संरक्षणको काम चाँढो थाल्ने आवश्वासन पाएका छौं ।” वर्षात समय अगावै संरक्षणको काम नसक्ने हो भने बजार खतरामा पर्ने जानकारी गराएको उहाँले बताउनुभयो । DSC_0054यसै गरी सर्वपक्षिय टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दैशक कुलमान घिसिङलाई भटी निर्माणधिन रघुगंगा जलविदुत आयोजनाको निर्माणलाई गति दिन आग्रह गरेको छ । साथै टोलीले २२० कभिए कालिगण्डकी कोरिडोर प्रशासरण लाइन अन्तर्गत अन्नपुर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा देखिएको समस्याको वारेमा पनि जानकारी गराएको छ । DSC_0031टोलीमा सांसद थापा,प्रदेश सांसद विनोद केसी,पूर्व सांसदहरु गोविन्द पौडेल,रेशम बहादुर बानियाँ,नवराज शर्मा सहभागि हुनुहुन्छ । साथै टोलीमा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनवहादुर श्रेष्ठ, जिसस प्रमुख केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,नेकपाका जिल्ला नेता हरिकृष्ण श्रेष्ठ,नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा,नेकपाका जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी,नेपाली काँग्रेसका जिल्ला सदस्य केबी भण्डारी, बेनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, बेनपाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा,बेनपाका नायब सुब्बा शिव शर्मा र पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य सहभागि हुनुहुन्थ्यो ।

यस्तो ज्ञापन पत्र 

माननीय मन्त्री ज्यू¸                                मिति २०७५।०८।०5

अर्थ मन्त्रालय¸

सिंदरबार¸काठमाण्डौं ।

विषयः ज्ञापन पत्र पेश गरेको ।

      महोदय,

प्रस्तुत विषयमा तहाँ मन्त्रालय अन्तर्गतबाट म्याग्दी जिल्लामा निम्न योजनामा विनियोजित बजेट रकम न्यन रहेकोले योजना सम्पन्न हुने गरी बजेट थप गरिदिनको लागि हामी तपशीलका म्याग्दी जिल्लाका प्रतिनिधिहरुको तर्फबाट अनुरोध गर्दै माननीय मन्त्री समक्ष यो ज्ञापन पत्र पेश गरेका छौं ।

                  तपशील

      १ म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार तथा वस्ती संरक्षण

 

क     म्याग्दी जिल्ला जल उत्पन्न प्रकोपको हिसावले अत्यन्त प्रभावित जिल्ला हो । म्याग्दी जिल्लाको सदरमुकाम रहेको बेनी बजारलाई कालिगण्डकी नदी र म्याग्दी नदीमा समय समयमा आउने बाढी पहिरोले ठूलो क्षती पुराइरहेको सन्दर्भमा यसको संरक्षणको लागि नेपाल सरकारले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारलाइ जोखिमयुक्त सदरमुकाम बचाउ कार्यक्रम अन्तर्गत समावेश गरी सो को लागि विस्तृत आयोजना प्रतिवेदन तयार पारी आ ब ०७१।०७२ देखी पक्की आरसीसी स्ट्रक्चरको तटवन्ध निर्माण कार्य भइरहेकोमा गत २०७५ भाद्र २६ गते कालिगण्डकी नदीमा आएको बाढीले निर्माण भएको संरचनामध्ये करिब १२० मिटर जती आरसीसी तटबन्धनलाइ भत्काइ सदरमुकाम बेनी बजार उच्च जोखिममा परेको छ, गत आवमा ११ करोड विनियोजित भएको र यस आव मा जम्मा ३ करोड विनियोजन भएकोमा बेनी बजार संरक्षणको लागी करिव  ५३ करोड ३२ लाख रुपैयाँको लागतमा विस्तृत परियोजना (डिपीआर) तयार भइ क्रमागत कार्यक्रम संचालन भइरहेकोले सदरमुका संरक्षण जस्तो संवेदनशील विषयलाइ ख्यालमा राख्दै सकभर यही आवमा सम्पन्न हुने गरी र यदी सम्पन्न हुने गरी आगामी आव भित्र सम्पन्न हुने गरी आवश्यक वजेट व्यवस्था गरिदिनुहुन ।

ख    २०७५।०५।२६ गते नै रघुगंगा नदीमा आएको बाढीले बेनी नगरपालिका वडा नं ९ मा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गलेश्वरधाम र सो क्षेत्रको बजार साथै रघुगंगा गाउँपालिका वडा नं ३ मा अवस्थित गायत्री मन्दिर परिसर तथा वडा नं ८ को घ्यासीखर्क गाउँ र रितुङ माविलाइ समेत ठूलो क्षति पुराएको हुँदा उक्त स्थानहरुको संरक्षणको लागि आवश्यक बजेट व्यवस्था गरिदिनुहुन ।

  • जलविद्युत आयोजना

क म्याग्दी जिल्लामा संचालित राष्ट्रीय गौरबको योजनाको रुपमा रहेको राहुघाट जलविद्युत योजनाको निर्माणले हालसम्म पनि गति लिन नसकेको हुँदा उक्क आयोजना निर्माणमा भएका समस्याहरुलाइ समाधान गरी निर्माणमा तिब्रता ल्याउन आबश्यक सहयोग गरिदिनुहुन ।  

३ सडक

क     राष्ट्रीय गौरवको कालिगण्डकी करिडोर आयोजना अन्तर्गतका धेरैजसो क्षेत्रमा सिमांकन भइ निर्माण कार्य शुरु भए तापनी बागलुङ जिल्लाको मालढुङागादेखी म्याग्दी जिल्लाको गलेश्वर सम्मको सडकमा सिमांकन समेत कायम नभइ निर्माण कार्य हुन नसकेको  हुँदा उक्त योजनाको आधार कालिगण्डकी नदीको पश्चिम किनारालाइ नै मानी बाग्लुङ जिल्लाको मालढुङ्गा देखी बेनी नगरपालिका वडा नं १ रत्नेचौर¸बेनी बजार हुँदे गलेश्वर सिमांकन कायम गरी निर्माण कार्य अगाडी बढाउने कार्यमा सहयोग गरिदिनुहुन ।

ख    कालिगण्डकी करिडोर अन्तर्गत गलेश्वर जोमसोम खण्डको निर्माण कार्य अति नै सुस्त भएकोले आवश्यक वजेटको व्यवस्था गरी निर्माण कार्यलाइ तीव्रता दिन सहयोग  गरिदिनुहुन ।

ग     कालिगण्डकी करिडोरको सडक सीमाभित्र पर्ने कतिपय घरजग्गा धनीको सबै घर जग्गा सडक क्षेत्रमा पर्ने भई सुकुम्वासी तथा घरवारविहिन हुने अवस्था देखा परेकोले सो को‍ लागी हासम्म मुआब्जा व्यवस्था नभएको र मुआब्जा तथा बैकल्पिक व्यवस्था नभएमा उनीहरुले निर्माण कार्यमा समेत अवरोध गर्ने भएकोले उचित मुआब्जा दिइ निर्माण कार्यमा आइपर्ने अवरोधहरु हटाउन सहयोग गरिदिनुहुन ।

घ     यस अगाडि श्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का समेत लागेको बेनी दरबाङ−सडकलाइ जलजला−रुकुम पूर्व सम्म कायम गरी संघिय सरकारकै मातहतमा राखी बजेट व्यवस्था गरी निर्माण कार्य अगाडि बढाइदिनुहुन ।  

ङ     बहुवर्षीय ठेक्का लगाइ बाग्लुङ−बेनी−जोमसोम सडक खण्ड अन्तर्गत बागलुङ –बेनी, बेनी−गलेश्वर खण्डको कालोपत्रे गर्ने कार्य यही २०७५ चैत्र समान्त भित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा बजेट अपुग भएको कारण निर्माण कार्य रोकिएकोले करिव ७ करोड बजेट व्यवस्था गरी निर्माण कार्य सम्पन्न गर्ने गरी आवश्यक सहयोग गरिदिनुहुन ।

      ४  वसपार्क निर्माण

क     बेनीबजारबाट पोखरा काठमाण्डौ तथा पूर्व, पश्चिम एवं मुक्तिनाथ, जोमसोम र कोरालाको लागी सवारी साधन छुट्ने एकमात्र वसपार्क निकै अव्यवस्थित रहेको छ । सो बसपार्क व्यवस्थापनको लागि बहुवर्षीय प्रणालीमा गर्ने गरी सानो आकारमा बजेट व्यवस्था भए पनि कामको गति र गुणस्तर निकै कमसल भएकोले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा व्यवस्थित बसपार्क निर्माण गर्नको लागी विस्तृत परियोजना प्रतिवेदनले समावेश गरे बमोजिम आवश्यक बजेट व्यवस्था गरिदिनुहुन ।  

      ५ खेल मैदान

क     बेनी बजारको खुला मंचमा बहुउद्देश्यीय खेल मैदानको लागि विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख भए अनुसार हालमा कम्तीमा १ करोड र बेनपा १ रत्नेचौरको खुला चौरमा बहुउद्देश्यीय खेल मैदानको लागी १ करोड बजेट व्यवस्था गरिदिनुहुन ।

६ खानेपानी

क     बृहद घोप्टेखोला खानेपानी आयोजना (पाखापानी¸झिं¸पात्लेखेत¸घतान¸पुलाचौर र अर्थुङगे) को विस्तृत परियोजना प्रतिवेदन मा रु ६५ करोड लागत अनुमान रहेकोमा गत वर्ष ३५ लाख र चालु आव मा ३५ लाख विनियोजन भएकोमा बजेट ज्यादै न्यून रहेको र यही गतिले बजेट विनियोजन भएमा तहाँका जनताले पानी पिउन शताब्दिऔं कुर्नुपर्ने अवस्था रहेकोले सो परियोजना २।४ वर्षमा नै सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरिदिनुहुन ।

प्रतिनिधिहरु

१ माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री थममाया थापा

२ माननीय प्रतिनिधि सभा सदस्य  श्री भूपेन्द्र बहादुर थापा

३ माननीय प्रदेश सभा सदस्य, गण्डकी प्रदेश  श्री विनोद के सी

४ माननीय संविधान सभाका पूर्व सदस्य श्री गोविन्द पौडेल

५ माननीय संविधान सभाका पूर्व सदस्य श्री नबराज शर्मा

६ माननीय संविधान सभाका पूर्व सदस्य श्री रेशम बहादुर बानिया

७ मानीनिय राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष श्री मिन बहादुर श्रेष्ठ

८ जिल्ला  समन्वय समिति म्याग्दीका प्रमूख श्री देवेन्द्र बहादुर के सी

९ बेनी नगरपालिकाका नगर प्रमुख श्री हरिकुमार श्रेष्ठ

१० श्री हरिकृष्ण श्रेष्ठ जिल्ला संयन्त्र सदस्य नेकपा म्याग्दी

११ श्री खम बहादुर गर्वुजा  सभापति नेपाली काँग्रेस म्याग्दी

१२ श्री बालकृष्ण सुवेदी जिल्ला संयन्त्र सदस्य म्याग्दी

१३ श्री के वि भण्डारी  जिल्ला कार्य समिति सदस्य  नेपाली काँग्रेस म्याग्दी

१४ श्री राजेन्द्र कुमार श्रेष्ठ वडा अध्यक्ष बेनी नगरापलिका वडा नं ७

१५ श्री कृष्ण कुमार विश्वकर्मा, नगरकार्यपालिका सदस्य, बेनी नगरपालिका म्याग्दी

१६ श्री शिव शर्मा नायब सुब्वा¸ बेनी नगरपालिका

१७ श्री ठाकुर प्रसाद आचार्य¸उपाध्यक्ष पत्रकार महासंघ¸म्याग्दी