ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
बेनी(म्याग्दी) कार्तिक २८ गते । नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याराहरु चाँढै पहिचान हुने र कारवाहीको दायरामा आउने बताउनुभएको छ । सरकारले गठन गरेको अनुशन्धान टोलीले गहिरो गरी अनुशन्धान प्रक्रिया अगाडी बढाएकाले चाँढै नै दोषीहरु कानुनी कारवाहीमा आउने उहाँले दावी गर्नुभएको । सरकारले दोषीलाई कुनै पनि हालतमा नछाड्ने बताउँदै गृहमन्त्री थापाले भन्नुभयो “केही ढिला होला तर हत्यारा कानुनी कारवाहीबाट फुत्किन सक्दैनन् ।”
प्रेस चौतारी र प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दीले ले संयुक्त रुपमा बुधवार म्याग्दीको सदरकुमा बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मलाको विषयलाई राजनीतिकरण गरेर केही समुहहरुले मुलुकमा अराजकता फैलाउने र सरकारलाई कमजोर पारी विघटन गर्न खोज्ने तत्वहरुप्रति सरकार सजग रहेको उहाँको भनाई थियो । नागरिकलाई सुरक्षा प्रदान गर्न सरकारले कुनै कसर वाँकी नराख्ने गृहमन्त्री थापाको भनाई थियो । ९० प्रतिशत आपराधिक घटनाका दोषीहरु कानुनी दायरामा आएको बताउँदै मन्त्री थापाले वाँकीलाई पनि कानुनी दायारामा ल्याइने उद्घोष गर्नुभयो । गृहप्रशासनको प्रभावकारी कार्यले मुलुकबाट गुण्डागर्दी र डनवाद निस्तेज परेको गृहमन्त्री थापाको दावी थियो ।
महिला दिदीबहिनी र चेलीबेटीहरुको सुरक्षाका लागि सरकार प्रतिवद्ध भएको बताउँदै उहाँले महिला माथि हुने घरेलु हिंसालाई न्यूनिकरण गर्नका लागि सरकारले कठोर कदम चाल्ने बताउनुभयो । घरेलु मदिरा र लागूऔषका कारण समाजमा असुरक्षा उत्पन्न भएकाले यसलाई नियन्त्रण गर्नका लागि सरकार कडा रुपमा प्रस्तुत हुने गृहमन्त्री थापाको भनाई थियो ।
पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्ड सँगै सोमवार म्याग्दी आउनु भएका गृहमन्त्री थापाले म्याग्दीका उद्योग व्यवसायी र पार्टी कार्यकर्ताहरुसँग पनि छलफल र अन्तरक्रिया गर्नुभएको छ । उद्योगी व्यवसायीहरु सँगको छलफलमा गृहमन्त्री थापाले यातायात लगायतका क्षेत्रहरुमा रहेको सिन्डीकेटलाई तोड्न सरकार कडा रुपमा प्रस्तुत भएको बताउनुभयो । निजी क्षेत्र सँग सहकार्य गरेर नै मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाई थियो ।
सिन्डीकेटले सिमित व्यक्तिलाई धनी र आम जनतालाई दरिद्र बनाउने भएकाले सिन्डीकेटको अन्त्य हुनुपर्ने गृहमन्त्री थापाको भनाई थियो । यसैगरी सदरमुकाम बेनी स्थित वसपार्कमा म्याग्दी कोराला यातायात प्रालिद्धारा सञ्चालित बेनी काठमाण्डौ वससेवाको सुपर डिलक्स बससेवाको सुभारम्भ गर्दै गृहमन्त्री थापाले सिमित व्यक्तिले अकुत सम्पत्ति आर्जन गर्नका लागि सिन्डीकेट प्रणाली ल्याएको बताउनुभयो । गृहमन्त्री थापाले मुठीभर व्यक्तिका हातमा अवसर हुने र आम जनतालाई अवसरबाट बञ्चित गर्न सिमित व्यक्तिहरुले सिन्डीकेट प्रणाली लादेकाले यसलाई राज्यले जसरी पनि तोड्ने उहाँको भनाई थियो ।
अवको लक्ष्य भनेको देशलाई समृद्ध र नेपालीहरुलाई सुखी बनाउने भएको बताउँदै मन्त्री थापाले गरिबीबाट मुक्त बनाउने लक्ष्य सरकारले लिएको उहाँको भनाई थियो । यातायातका क्षेत्रलाई व्यवस्थीत र मर्यादित बनाउन सरकारले विशेष ध्यान दिएको उहाँको भनाई थियो । अझै पनि व्यवहारिक तरिकाले सन्डिकेट अन्त्य भएको छैन । यसलाई व्यवस्थीत गर्न सरकारले विशेष ध्यान दिएको मन्त्री थापाको भनाई छ ।
बेनीको होटल याकमा आयोजित पत्रकार सम्मेलनको प्रेस सेन्टरका अध्यक्ष कमल खत्रीको अध्यक्षता,प्रेस चौतारीका सचिव प्रताप बानियाँको सञ्चालन र सेन्टरका सचिव सन्दीप खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरी अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले म्याग्दी बहुमुखी क्याम्पसको पनि अवलोकन गर्नुभएको छ ।