दरवाङका स्थानीयवासीले तोके देउसी भैलोमा रकम

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते ।new darbang  पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरवाङका स्थानीयहरुले देउसी भैलोमा दिने रकम तोकेका छन् ।  देउसी भैलोको नाममा जवरजस्ती चन्दा उठाउने कार्यलाई निरुत्साहीत गर्न दरवाङका टोलविकास समितिहरुले देउसीभैलो खेल्नेलाई दिने दान रकमको सिमा तोकेका हुन ।

दरवाङ बजारमा रहेका ८ वटा टोलविकास समितिको संयुक्त बैठकले शैक्षिक संस्था वा कुनै सामाजिक उद्देश्य लिएर आउने देउसी भैलोलाई टोलको तर्फबाट एकमुष्ट ३ हजार रुपियाँ मात्र दिने निर्णय गरेका छन्।

पछिल्लो समय देउसी भैलोको नाममा जवरजस्ती रकम माग गर्दा व्यवसायी तथा सर्वसाधारणहरु समस्यामा परेकाले टोलविकास समितिहरुले यस्तो निर्णय गरेको वडा अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो ।

संस्कृतीको जगेर्ना गर्ने नाममा जवरजस्ती पैसा उठाउने विकृतीका कारण व्यवासीय र सर्वसाधारण मारमा परेपछि यस्तो निर्णय गर्नुपरेको बुद्धशान्ती टोलविकास समितिका अध्यक्ष गोपाल गौतमले जानकारी दिनुभयो ।

टोलमा सम्बद्ध व्यवसायीहरु तथा सर्वसाधरणले टोलको अध्यक्षलाई निश्चित रकम दिने र अध्यक्षले प्रत्येक देउसी भैलोलाई एकमुष्ट तिनहजारका दरले रकम उपलब्ध गराउने व्यवस्था गरिएको हुलाकचोक टोलविकास समितिका अध्यक्ष शेरवहादुर पुनले बताउनुभयो ।

टोलविकास समितिले निश्चत रकम तोकेपछि आफूहरुलाई राहत मिलेको स्थानीयवासीहरुले बताएका छन् ।