गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म

१२ कात्तिक, कास्की ।

किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । DSC_0326नमूना फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा बताउँछन् । प्रदेशमा ४०० नमूना फार्म स्थापना गर्ने उद्देश्यले सरकारले आव २०७५/७६ मा ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषितर्फ नमूना फार्मका लागि २५ करोड रुपैयाँ तथा पशुपक्षी र माछापालनका लागि १५ करोड रुपैयाँ बजेट छ ।

मन्त्री थापाका अनुसार साना, व्यवसायउन्मुख, व्यावसायिक र उद्यमी नमूना फार्म सञ्चालन तथा स्थापना गर्न प्रदेशका कृषक, कृषि उद्यमी, फार्म, कम्पनी, समूह तथा सहकारी सङ्घ/संस्थाले प्रदेशको ज्ञान तथा विज्ञ केन्द्रमा दर्ता गराएका परियोजना प्रस्तावलाई अध्ययन मूल्याङ्कन तथा फिल्ड भ्रमण गरी साझेदारी सम्झौता गरिनेछ ।

साना नमूना फार्मका लागि पहिलो वर्षको प्रस्तावित लागत १० लाख, व्यवसायउन्मुखका लागि १० लाख रुपैयाँ भन्दा बढी तथा व्यावसायिक नमूना फार्मका लागि २५ लाखभन्दा बढी र उद्यमी नमूना फार्मका लागि ५० लाख रुपैयाँभन्दा बढी लागत रहनुपर्ने मन्त्रालयले जनाएको छ ।

नमूना फार्म खोलेपछि कृषकले आफ्नो सम्पूर्ण पारिवारिक खर्चमा योगदान दिन सक्षम होस् भन्ने उद्देश्यले सो कार्यक्रम शुरु गरिएको मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ बताउँछन् । तीन वर्षभित्रमा प्रदेशलाई कृषि तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारको योजनालाई साकार पार्न सहयोगी हुने उनको विश्वास छ । सचिव श्रेष्ठ भन्छन्, ‘कृषिमा २० लाख रुपैयाँ लगानी गर्दा कृषक आत्मनिर्भर बन्न सक्छन् भन्ने हाम्रो मान्यता हो ।’maobadi-leader-padam-pun-ko-goat-farm-1

राष्ट्रिय पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज गण्डकी प्रदेशका अध्यक्ष दीपक तिमिल्सिनाले प्रदेश सरकारले ल्याएको नमूना फार्म स्थापना कार्यक्रम सकारात्मक भएको र यसबाट कृषिको विकासमा ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

उनले विगतमा सरकारले ल्याएका कतिपय योजना तथा कार्यक्रम लक्षित वर्गसम्म नपुगेको उल्लेख गर्दै प्रदेश सरकारको अहिलेको योजना वास्तविक किसानसम्म पुग्नसके कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुने बताए ।onlinekhabar.com