स्वर्गाश्रमको विकासमा स्थानीयको सक्रियता

विकल्प न्यूज/बेनी
कार्तिक ७ गते । IMG_2586बेनी नगरपालिकाको भकिम्ली–३ मा अवस्थित स्वर्गाश्रम पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीयहरुले चासो देखाएका छन् । प्रचारप्रसारको कमिले अझेलमा परेको स्वार्गाश्रमलाई प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा स्थानीयहरु जुट्न थालेका छन् । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको वडा अध्यक्ष पदम पुन बताउनुहुन्छ ।

पूर्वाधारको विकास गरी र प्रचारप्रसार गर्न सकेमा स्वर्गाश्रम रमणीय दृष्य अवलोकनका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने सम्भावना छ । धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, माछापुच्छ्रे, मानापाथी लगायत हिमाल, सुर्योदयका साथै म्याग्दी र आसपासका जिल्लाका बस्तीहरुको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रम भन्दा ३०० मिटर माथि रहेको बेलढुङ्गाबाट बागलुङ, कास्की, म्याग्दी, पर्वत जिल्लाको अवलोकन गर्न सकिन्छ ।Sorgaaashram

पर्यटकीय संभावना भएरपनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा स्वार्गाश्रम ओझेलमा परेको वडाअध्यक्ष पुनले बताउनुभयो । स्थानीयवासीहरुको पहलमा स्वर्गाश्रममा भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारको अभियान थाल्न लागेको उहाँको भनाई छ ।

स्वर्गाश्रम माथिको अर्को डाँडामा बेलको गेडाजस्तो आकारको ढुङ्गा भएकाले सो स्थानलाई बेलढुङ्गा नामाकरण गरिएको छ । बेनी बजारदेखि मुसुङडोलेसम्म दुई घण्टा गाडी र एक घण्टा पैदल उकालो हिडेपछि स्वर्गाश्रम पुग्न सकिन्छ । नव वर्षको दिन भकिम्लीका बासिन्दाले डाँडाखानीदेखि स्वर्गाश्रमसम्म रथयात्रा गर्छन् ।

सोनामुखी नाग देवताको मुर्ती रहेको गणेश मन्दिरको दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । पर्यटकीय बिशेषता, धार्मीक महत्वका बारेमा प्रचारप्रसार हुन नसक्नु र पूर्वाधारको कमीका कारण ओझेलमा परेको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो ।

त्यहाँ खानेपानी, व्यवस्थित पदमार्ग, मठमन्दिरको संरक्षण, भक्तजन र पर्यटकको खानेबस्ने सुबिधाका लागि आश्रय तथा विश्राम स्थल निर्माण गर्न आवश्यक छ । चालु आर्थिक वर्षमा नगरपालिकाको पाँचलाख र वडाको दुइलाख गरि सातलाख रुपियाँ बजेट विनियोजन गरिएको वडाअध्यक्ष पुनले बताउनुभयो । स्वर्गाश्रम सम्म पुग्ने पदमार्ग र पर्यटकलाई वसोवासका लागि पूर्वाधार अभाव रहेको उहाँको भनाई छ ।