दसैंको शुभकामना (सम्पादकीय)

विकल्प न्यूज/बेनी
असोज ३१ गते । happy-dashain-wishes-2075प्रत्येक वर्ष झै यसपाली पनि नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भएको छ । दसैले गर्दा गाउँघरमा चहलपहल बढेको छ । परदेश पुगेकाहरु दसै मनाउन घर फर्किन थालेका छन् भने सहरपसेकाहरु पनि आफ्नो जन्म गाउँ पुग्न थालेका छन् । दसै नेपालीहरुको एक मौलिक चाढ हो । दसैको फरक मौलिकता छ ।रोजगारीको लागि विदेशिएका नेपालीहरु पनि दसैं मनाउन स्वदेश फर्किएका छन् । दसैंमा आफ्ना आफन्तजनहरुसँग भेटघाट गर्ने, दुःख भुलेर रमझम गर्ने तथा मीठोमसिनो खाने र नयाँ कपडा लगाउने चलन छ । दसैंलाई जुनसुकै वर्गका व्यक्तिहरु पनि हर्षोल्लासपूर्वक मनाउन चाहन्छन् । विशेष गरी आफन्तजनहरुसँग भेटघाट गरेर रमाइलोपूर्वक मनाउने यो चाडमा घरबाहिर काम गर्न पुगेकाहरु घर फर्कने गर्दछन् । नेपालीहरु पनि छिमेकी देश भारतदेखि अन्य मुलुकहरुमा रोजगारीमा पुगेका हुन्छन् । उनीहरु पनि दसैंलाई लक्षित गरेर घर फर्किरहेका छन् । विभिन्न कारणले दसैंमा घर फिर्ती हुननसक्नेहरुका लागि भने दसैं खल्लो हुने गर्दछ । साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि दसैं दशा बनेर आउने गर्दछ । दसैलाई नेपालीहरुको साझा पर्वका रुपमा मनाउन यसको मौलिकतालाई गुम्न दिनुहुँदैन ।

दसैं हिन्दु धर्मालम्बीहरुको साझा चाड हो । अधिकांश नेपालीहरुले मनाउने भएकाले पनि सरकारले दसैंमा लामो विदा दिने गरेको छ । दसैंमा वर्ष दिनको कामबाट केहीदिन भएपनि फुर्सद, पारिवारिक जमघट, इष्टमित्र साथीभाईसँगको भेटघाट, मिठो खाने, राम्रो लगाउने चाडको रुपमा नेपालीले मनाउँदै आएको चाड हो । झण्डै ८० प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको हाम्रो देशमा परम्परागत रुपमा दसैं विशेष महत्व रहेको छ । हिन्दु धर्ममा दसैंलाई रावणमाथि रामको अर्थात् असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्वको रुपमा लिइन्छ । तथापी कृषि प्रधान देश नेपालमा कृषि कार्यबाट कृषकहरुले फुर्सद पाउने यो समयमा दसैं मनाउनुको छुट्टै महत्व छ । वर्षभरि आ–आफ्नो काममा व्यस्त रहनुपर्ने भएकोले दसैंको बिदाले मानिसहरुलाई केही भएपनि राहत दिएको छ । दसैंको चहलपहलसँगै पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको चहलपहल बढेको छ । दसैंले आर्थिक क्षेत्रलाई गतिशिल बनाएको छ ।

दसैं एकताको प्रतिक भएकाले पनि नेपालीहरु विच नयाँ एकता कायम होस् । दसैं मनाउन नसक्नेहरुका लागि दसैं मनाउने वातावरण बनोस् । दसैं पर्वले समृद्ध नेपाल बनाउने लक्ष्य पुरा गर्न सवै राजनीतिदलहरुमा एकता पैदा होस् । मुलुकलाई आर्थिक समृद्धि बनाउन सकेमात्र सवै नेपालीहरुले दसैंलाई दसैंका रुपमा मनाउन पाउने वातावरण बन्न सक्थ्यो । नत्र कमजोर परिवारका लागि दसैं कष्टकर र दशा हुनसक्छ । यो वर्षको विजयादशमीले सुखी नेपाली,समृद्ध नेपालको सपना पुरा गर्न राजनीतिक दल,सरकार र अन्य सरोकारवाला निकायहरुको ध्यान पुग्नुका सार्थ नेपालीहरुको एकताको वातावरण तयार पार्न थप सहयोग पुगोस । देशले आर्थिक, सामाजिक र सम्वृद्धिको बाटो समात्न सकोस् बिजयादशमी २०७५ को उपलक्ष्यमा सवै नेपाली दाजुभाई दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।