तातो पानी कुण्डमा पर्यटक बढे (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
बेनी(म्याग्दी) असोज २८ गते । DSC_0349पर्यटन सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानी कुण्डमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड लागेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने धार्मिक पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा निस्केका विदेशी पर्यटकहरुका कारण कुण्डमा भीड वढेको हो ।

पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु तातोपानीमा एकदिन बसेर कुण्डमा स्नान गरेर मात्र फर्किने गरेका छन् । मुस्ताङको कागवेनीमा पितृलाई तर्पण दिएर फर्किएका तिर्थयात्रीहरुका कारण तातोपानी कुण्डमा भीड लागेको भुरुङ तातोपानीका होटल व्यवसायी ध्रुव गौचनले बताउनुभयो ।

मुस्ताङको भ्रमण गरेर आएका विदेशी पर्यटकहरु एकदिन कुण्डमा स्नान गरेर पर्यटकीय स्थल घोडेपानी जान्छन् । मुस्ताङबाट पाँचघण्टाको लामो यात्रा गर्दा थकीत बनाएको शारिरलाई तातो पानीमा स्नान गर्न पाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु निकै रमाउने गरेको होटल व्यवसायी आत्म तुलाचनले बताउनुभयो । DSC_0344अन्नपूर्ण पदमार्गअन्तर्गत शिख, घारा हुँदै आउने पर्यटकसमेत तातोपानी झरेर स्नान गरी नारच्याङ हुँदै मुस्ताङ पुग्ने गर्छन भने हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक र तीर्थयात्रीसमेत सोही कुण्ड हुँदै जाने भएकाले कुण्डमा स्नान गर्नेको संख्या बढेको होटल व्यवसायीहरु बताउँछन् । DSC_0352तातोपानीका होटलहरुमा वास वसेका पर्यटकहरु साँझ थकान मेट्न तथा फ्रेस हुनका लागि पर्यटकहरु नजिकै रहेको तातो पानी कुण्डमा नुहाउन जाने गर्दछन । दिउँसो चार–पाँच बजेबाट नै कुण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडभाड लाग्ने गर्दछ । कुण्डमा दैनिक चार देखी पाँचसय भन्दा बढी पर्यटकहरुले स्नान गर्ने गरेको कुण्डका सञ्चालक नगेन्द्र गिरीले बताउनुभयो ।

कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मुलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ३८ डिग्री सेल्सियस सम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गरी मनोरञ्जन लिने गर्छन । पर्यटकको सुविधाका लागि दुईवटा कुण्ड बनाएर स्नान गर्ने व्यवस्था समेत गरिएको छ । कुण्डलाई थप व्यवस्थित बनाउनका लागि गाउँपालिकाले पहल गरेको अन्नपूर्ण गाउँकार्यपालिकाका सदस्य समेत रहनु भएका होटल व्यवसायी तुलाचनले बताउनुभयो । कुण्डमा स्नान गरेमा विभिन्न बाथरोग, मर्केको, सुन्निएको, ग्यास्ट्रिक, गानोगोला लगायतका रोग निको हुने विश्वासमा पर्यटक आउने गर्छन् ।

तातोपानी कुण्डमा स्नान गर्दै गरेका आन्तरिक पर्यटकहरुको भीड । तस्विर ठाकुरप्रसाद आचार्य