प्रताप बानियाँ /बेनी
असोज २४ गते । यस वर्षको दसैं नजिकिँदै गर्दा हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको तिब्बतबाट भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन् ।
म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु हिमाली जिल्ला मुस्ताङ र तिब्बतको सिमानासम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गरेर ल्याएका छन् । दसैं नजिकिँदै जाँदा मुस्ताङ–तिब्बत नाका कोरलाबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको हो । च्याङ्ग्रा खरिद गर्न भन्दै व्यापारीहरु उपल्लो मुस्ताङका स्थानीयहरुको गोठमै पुगेका छन् ।
मुस्ताङको लोमान्थाङ, छोसेरसहित माथिल्लो क्षेत्रका लेक र तिब्बतमा भेडा–च्याङ्ग्राको उत्पादन हुँदै आएको छ । हिमाली क्षेत्रको बुट्यान र झाडीमा यार्सागुम्बा, सतुवा, जटामसीलगायत महत्वपूर्ण जडिबुटीहरु खाएर हुर्किएको हुँदा भेडा–च्याङ्ग्राको मासु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
पछिल्लो समय भेडाको भन्दा पनि बजारमा च्याङ्ग्रा बढी माग हुन थालेको छ । नेपालीहरु दसैंमा प्रायः मासु खाने गर्दछन् । तुलनात्मक रुपमा भेडाको भन्दा च्याङ्ग्राको मासु मीठो हुने उपभोक्ताको भनाइ छ ।
२०५२ सालबाट व्यावसायिक रुपमा भेडा–च्याङ्ग्राको खरिद विक्री गर्दै आउनुभएका सिन्धुपाल्चोकका व्यापारी मेखबहादुर नेपालले यसपटक मुस्ताङबाट १ हजार २५४ ओटा च्याङ्ग्रा खरिद गरेको बताउनुभयो । उहाँले खरिद गरेको सबै च्याङ्ग्रा काठमाडौंको कलङ्कीमा रहेको रामशरण खसी सप्लायर्समा बिक्री वितरण हुने उहाँले बताउनुभयो ।
भेडा–च्याङ्ग्राको मूल्य बढ्यो
गएका वर्षहरुमा भन्दा यसवर्ष भेडा–च्याङ्ग्राको मुल्यमा वृद्धि भएको छ । गएको वर्ष १८/२० हजार रुपैयाँ पर्ने एउटै च्याङ्ग्रालाई यो वर्ष २२ हजार रुपैयाँसम्म मूल्य परेको अर्का व्यापारी पशुपति सिलवालले बताउनुभयो । मुस्ताङमै प्रति च्याङ्ग्रा न्युनतम १८/२० हजार रुपैयाँ परेको हुँदा बजारसम्म पु¥याउँदा त्यसलाई २८/३० हजारसम्म मूल्य पर्ने व्यापारीहरु बताउँछन् ।
यसपटक स्थानीय सरकारलाई धेरै कर तिर्नुपरेको हुँदा भेडा–च्याङ्ग्राको मुल्य बढेको छ । बर्सेनि खसी, बोका, भेडा र च्याङ्ग्राको मूल्य बढ्दै गए पनि व्यापारीहरु भने किसानको घर गोठमै पुगेर खरिद गर्ने गरेका छन् । मुस्ताङका किसानहरुको गोठमै भेडा–च्याङ्ग्राको मूल्य बढी परेको हुँदा बजारमा पु¥याउँदा त्यसको मूल्य स्वतः बढ्ने व्यापारी सिलवालले बताउनुभयो ।
कर धेरै तिर्नु परेकोमा गुनासो
यसपटक मुस्ताङ र म्याग्दीका स्थानीय सरकारलाई भेडा च्याङ्ग्राको धेरै कर तिर्नुपरेकोमा व्यापारीहरुले गुनासो गरेका छन् । मुस्ताङको कागबेनीमा प्रतिगोटा एकसय र म्याग्दीको भूरुङ–तातोपानीमा ३५ रुपैयाँका दरले स्थानीय सरकारलाई कर तिर्नुपरेको सिन्धुपाल्चोकका व्यापारी मेखबहादुर नेपालले गुनासो गर्नुभयो । उहाँले स्थानीय सरकारले कर धेरै तोकेको हुँदा व्यापारीलाई मर्का परेको भन्दै कर एउटा मात्रै स्थानीय सरकारलाई तिनुपर्ने व्यवस्थाको माग गर्नुभयो । म्याग्दीको बेनी नगरपालिका–२, भकुण्डेका व्यापारी तुलबहादुर विश्वकर्माले पनि ३८ ओटा च्याङ्ग्रा खरिद गरेर ल्याउँदा जोमसोममा चारसय र तातोपानीमा एकहजार रुपैयाँ कर तिर्नुपरेको बताउनुभयो । ujyaaloonline.com