ताजा समाचार:
Search

लिटिल गार्डेन एकेडेमीमा विविध कार्यक्रम

IMG_2833  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीमा सोमबार विविध कार्यक्रम सम्पन्न भएको छ । ‘संस्कृतिको संरक्षण, समुदायमा परीक्षण’ भन्ने मूल नारासहित प्रतिस्पर्धात्मक सांस्कृतिक भेषभूषा प्रदर्शनी, दशैं मिलन, शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको हुँदा यसले गुणात्मक नतिजाको विकासमा सहयोग पुगेको धारणा राखेका छन् । उनले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्पूर्ण रहेको बताउँदै सार्वजनिक र निजी विद्यालयलाई सन्तुलित रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताएका थिए । IMG_2834म्याग्दीको बेनी नगरपालिकाका नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले अबको शिक्षा गुणस्तरीय र प्राविधिक हुनुपर्ने बताउँदै शैक्षिक क्षेत्रको उन्नयनका लागि सरोकारवाला सबै लाग्नुपर्ने बताए । विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी र प्याब्सन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुवेदीले निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकोमा जोड दिएका थिए ।

कार्यक्रमको अवसरमा गतवर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लिटिल गार्डेनबाट सहभागी भई जिल्ला प्रथम हुन सफल अमिसा परियार, द्वितीय सुजता पौडेल र तृतीय सुद्धिप्ता पौडेललाई जनही १० हजार, पाँचहजार र तीनहजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ । यसैगरी कलाकारहरु ध्रुव जिसी, नकुल ढकाल र रवि कार्कीलाई दोसल्ला ओढाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयको प्रि प्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले भेषभूषा प्रदर्शनी, सांस्कृतिक तथा साहित्य कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि विद्यालयले त्रिदिवसीय खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । सबै प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई विद्यालयको आउँदो वार्षिकोत्सवमा पुरस्कृत गरिने संस्थापक निर्देशक सुवेदीले जानकारी दिएका छन् ।

विद्यालयका प्रिन्सिपल खुमबहादुर केसीको अध्यक्षता, शिक्षकद्वय सुजता सुवेदीको सञ्चालन र ईन्दिरा आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा अभिभावक लिलाराम गौतमले मन्तव्य राखेका थिए ।