विकल्प न्यूज/बेनी
असोज १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको रुइसे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि साइकल यात्रा गरिएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा शुक्रवार पर्वतको मालढुङ देखि बेनी–गलेश्वर हुँदै पर्यटकीय गन्तव्य रुइसे भेडीओढार सम्म साइकल यात्रा गरिएको हो । साइकल यात्राले रुइसेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त गरिएको छ । राखु समाज कल्याण समिति काठमाण्डौको आयोजना,गाउँपालिका,म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा साइकल यात्रा गरिएको हो । पछिल्लो समय चर्चामा आएको रुइसे क्षेत्रको प्रचार प्रसार र सम्भावनाको उजागर गर्नका लागि साइकल यात्रा गरिएको समाजका प्रवक्ता प्रविनकुमार मल्ल बताउनुभयो ।काठमाण्डौबाट आएका अन्र्तराष्ट्रिय साईकल खेलाडी टासी दोर्जेको नेतृत्वमा अजय पण्डित क्षेत्री, आईमान तामाङ, बुद्धि बहादुर तामाङ लगायत १० जनाको समुहले मालढुंगा देखि सुरु गरेको साईकल यात्रा बेनी, गलेश्वर हुँदै पिप्ले, भगवती भएर रुइसे पुगेको हो । समाजका अध्यक्ष प्रेमबहादुर मल्ल र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त रुपमा साइकल यात्राको सुभारम्भ गर्नुभएको थियो ।
यसै गरी साइकल यात्रीहरुलाई म्याग्दी उद्योग वाणिज्य संघ र म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले बेनीमा स्वागत गरेका छन् । साइकल यात्री सहित रुइसेमा पुगेको टोली शुक्रवार वासवसी शनिबार फर्किने जनाइएको छ ।