जलजलाको पर्यटन विकासका लागि गुरुयोजना बनाउने तयारी

विकल्प न्यूज/जलजला
असोज १८ गते । jaljalaउत्तरी पर्वतको जलजला गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र जलजलालाई पर्यटन प्रवद्र्धन गर्नका लागि गुरुयोजना निर्माण गर्न थालिएको छ । प्रशस्त पर्यटकीय सम्भावना रहेको जलजलालाई गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा पर्यटकीय गन्तव्य बनाउनका लागि गुरुयोजना तयार पार्न लागिएको हो ।
पर्यटन विज्ञ सहित जनप्रतिनिधि र राजनीतिकदलका प्रमुख एवम् प्रतिनिधिहरुले जलजलाको पर्यटकीय सम्भावनाका वारेमा अध्ययन गर्न हालैमात्र स्थलगत रुपमा अवलोकन गरेका छन् ।

समुन्द्र सतह देखि तिनहजार तिनसय मिटर उचाईमा रहेको जलजलालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको टोलीमा संलग्न नेकपाका नेता लालबहादुर अधिकारीले बताउनुभयो ।

गाउँपालिका र प्रदेश सरकारको लगानीमा जलजलाको पर्यटकीय गुरुयोजना तयार पारी भौतिक पूर्वाधार निर्माण गरिने उहाँले बताउनुभयो । जलजलालाई उत्तरी पर्वतकै मुख्य आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँको भनाई छ ।
गुरुयोजना अन्तर्गत पर्वत बेनीदेखि हम्पालको लेकसम्म पदमार्ग निर्माणमा जोड दिइने छ । धार्मिक पर्यटकीय स्थलहरुलाई पदमार्ग सँग जोड्ने गरी योजना निर्माण गरिने वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्लले बताउनुभयो ।

घोडेपानी हुँदै डाँडाकटेरीमा आएका पर्यटकहरुलाई जलजलाको सौन्दर्यतामा रमाउने वातावरण तयार पारिने उहाँले बताउनुभयो । बेनी देखि सुरु भएको पदमार्ग माझफाँट हुँदै फालमेडाँडा – लेखफाँट,सालिजा हुँदै हम्पाल डाँडा हुँदै जलजला पु¥याउने र सालिजा हुँदै धाइरिङको भुमिथान हुँदै मिलनचोक सम्म विस्तार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने नेकपाका नेता अधिकारीले बताउनुभयो ।

अन्नपूर्ण क्षेत्रमा आएका हजारौ पर्यटकहरुलाई जलजला हुँदै कास्कीको नयाँ पुल झार्नेका लागि व्यवस्थित पदमार्ग र बसोवासको व्यवस्था गर्नसकेमा पर्यटक अगमनलाई बृद्धि गर्न सकिने अध्ययन अवलोकनमा आउनुभएका पर्यटन विद् सुदिपबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार वनजंगल,जंगली जनावर,धार्मिक स्थल र प्राकृतिक सौन्दर्यता जलजलाको पर्यटन संभावनाका लागि उपयुक्त हुन् ।

प्राविधिक टोलीले पर्वत बेनी देखि मल्लाज,पूर्णगाउँ सर्सकुमाई,गिद्देश्वर,दीपको बराहताल,तारे सिर्कु,कालाञ्जर पर्वत हुँदै हम्पालको लेकसम्मको पदमार्गको सम्भाव्यता अध्ययन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अनुसार जलजलाको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपियाँ विनियोजन गरेको छ । गाउँपालिकाले हम्पालको लेकमा ठूलो ताल बनाउने योजना बनाएको छ । झन्डै १२ हेक्टर क्षेत्रफलमा समथर जमिन रहेको छ । प्रदेश सरकार सँगको सहकार्यमा जलजला क्षेत्रलाई मुख्य पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष यामवहादुर मल्लले बताउनुभयो ।