प्रसारण लाइन निर्माणमा अवरोध

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले औंल्याएको सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्च नगरेको भन्दै अन्नपूर्ण गाउँपालिका ३ दानाका बासिन्दाले कालीगण्डकी प्रसारण लाइन निर्माणको काममा अवरोध गरेका छन् ।

दानादेखि पर्वतको कुश्मास्थित सबस्टेसन जोड्नेगरी निर्माणाधीन २२०, १३२, ३३ र ११ केभीए प्रसारण लाइनमा अवरोध गरेका हुन् ।

अन्नपूर्ण २ नागढुंगा छेउमा बेनी–जोमसोम सडक आयोजनाले टावर राख्न नदिएको विषयको विवाद अझै सुल्भिएको छैन । दानामा पनि अवरोध भएपछि आगामी अक्टोबरभित्र काम सक्ने लक्ष्य रहेको आयोजनालाई अप्ठ्यारो परेको छ । गाउँपालिका केन्द्र रहेको पोखरेबगरमा बस्तीमाथि हाइटेन्सन लाइन परेकाले स्थानीयले प्रसारण लाइनको टावर निर्माणमा अवरोध गरेका छन् ।

‘हाम्रो गाउँपालिका क्षेत्रभित्र साना–ठूला दर्जनौं आयोजना छन् तर ती आयोजनाले एकपटक पनि स्थानीय सरकारसँग कार्यक्रमको जानकारी गराउने र कार्यान्वयनमा समन्वय गरेका छैनन्,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘समस्या गाउँमा छ । उपाय सीडीओको कार्यालयबाट निक्लन्न । जनताले पनि र आयोजनाले पनि गाउँपालिकामा समस्या सुल्झाउनु पर्छ ।’ स्थानीयवासी विकासविरोधी नभएको तर्क गर्दै उनले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार अघि बढ्नुपर्ने बताए ।

प्रसारण लाइन निर्माणमा अवरोध भएपछि बेनीमा यस विषयमा बैठक गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । आयोजनाका अनुसार दाना–खुर्कोट ४२ किमि खण्डका १ सय १४ मध्ये ७ वटा टावर राख्न समस्या भएको छ । अवरोध नभएका क्षेत्रमा सबस्टेसनका ट्रान्सफर्मरसमेतका उपकरण जोड्ने र टावर टेस्टिङ पनि भइरहेको छ । ‘नोभेम्बरसम्म सक्नेगरी धमाधम काम गरिरहेका छौं ।

सानातिना समस्या आइरहन्छन्, समाधानको उपाय खोजी भइरहेको छ,’ आयोजना प्रमुख चन्दन घोषले भने, ‘प्राविधिक रूपमा ड्रोइङमा पुन: अध्ययन गर्ने र स्थानीयबीच बहुपक्षीय वार्ता र छलफल भइरहेको छ ।’ कान्तिपुरमा समाचार छ