अमर मावि चिमखोलाद्धारा २२ विद्यार्थीलाई निलम्बन

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
असोज १५ गते । Amar-mavi-chimkholaa-2 म्याग्दीको रघुगंगा गाउँपालिका ७ अमर माध्यमिक विद्यालयले २२ जना विद्यार्थीहरुलाई निलम्बन गरेको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई विद्यालयले एकमहिनाका लागि निलम्बन गरेको हो । लामो समय देखि विज्ञान विषय र कम्प्युटर शिक्षक रिक्त भएका कारण नियमित पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।
बिषय अनुसारका शिक्षकहरुको व्यवस्था गरि नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले एक महिनाको लागि निष्कासन गरेको छ । शिक्षक खोजी भइरहेको समयमा विद्यार्थीहरुले आन्दोलन गरेर विद्यालयमा अभद्र व्यवहार प्रदर्शन गरेकाले बाध्य भएर निलम्बन गर्नुपरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा लामो समयदेखि विज्ञान र कम्युटर बिषयका शिक्षक नहुँदा नियमित पठनपाठन नै प्रभावित बनेपछि असोज १० गते विद्यालय प्रशासनलाई दवाव दिन विद्यार्थीहरुले तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए ।
असोज ११ गते विद्यालय प्रशासनले तालाखोली पठनपाठन सुरु गरेपनि कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालय परिसर भित्र छिर्न दिइएन ।

आइतवार विद्यालय व्यवस्थापन समितिको वैठकले दश कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई एकमहिनाका लागि निलम्बन गर्ने निणर्य गरेको प्रधानाध्यापक पृथवहादुर थापाले बताउनुभयो । विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेकाले कारवाही स्वरुप उनीहरुलाई एकमहिनाका लागि निलम्बन गरेको उहाँले बताउनुभयो ।

चार वर्ष देखि कम्प्युटर शिक्षकमा कार्यरत रिम पाईजाले खाइपाई आएको मासिक १५ हजार तलबलाई घटाएर १२ हजार बनाइदिएका कारण पाइजाले जागिर छाडेपछि दुइमहिना देखि विद्यालय कम्प्युटर शिक्षक विहिन भएको हो । पाँचमहिना देखि विज्ञान विषयको शिक्षक नहुँनु र पछिल्लो दुइमहिना यता कम्प्युटर शिक्षक पनि रिक्त भएपछि पठनपाठन नियमित गर्न विद्यार्थीहरुले माग गरेका हुन स्थानीय धु्रव पाइजाले भन्नुभयो । विद्यार्थीको मागलाई समयमै सम्बोधन गर्न प्रशासनले चासो नदेखाएपछि विद्यार्थीहरुले आन्दोलन गर्नुपरेको उहाँले बताउुनभयो ।

शिक्षक माग गर्दा विद्यार्थीहरु नै निलम्बन गर्नु दुःखद कुरा भएको पाखापानी स्रोतकेन्द्रका स्रोतव्यक्ती बालकृष्ण पौडेलले बताउनुभयो । शैक्षिक सत्र सुरु भएको लामो समय वितिसक्दा पनि शिक्षकको व्यवस्थापन नहुँदा विद्यार्थीहरुले आन्दोलन गरेको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति,प्रशासन र जनप्रतिनिधिहरु सँग छलफल गरी समस्याको समाधान गर्न पहल भइरहेको उहाँले बताउनभयो ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले माध्यमिकस्तर सम्मको शिक्षाको अधिकार स्थानीयतहमा हस्तान्तरण भएकाले समस्या समाधान गर्न स्थानीय तहलाई अनुरोध गरिएको बताउनुभयो । उहाँले विद्यार्थीलाई निलम्बन नै गर्नु राम्रो नभएको बताउँदै चाँढै नै समस्याको समाधान गर्नका लागि स्थानीय तहलाई अनुरोध गरिएको उहाँले बताउनभुयो ।