ताजा समाचार:
Search

स्थानीयको अवरोध पछि मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द

विकल्प न्यूज/बेनी
असोज १४ गते । DSC_0154म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयवासीहरुले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य बन्द भएको हो ।

सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिएको पानीले पहिरो गएको र त्यसको नियन्त्रणमा आयोजनाले बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार देखि आयोजनाको निर्माण कार्यलाई रोकेका हुन । रोवष्ट इनर्जीले निर्माण गर्न लागेको आयोजनाको काम तिव्रतरिकाले भएको थियो ।

आयोजनासँग वार्ता र लिखित सहमति नहँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिनुभयो । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ ।

पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराउनु परेको पुनले बताउनुभयो ।

वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको बताउनुभयो । आयोजना र स्थानीयवासीहरु विच छलफल गरेर समस्या समाधान गर्नका लागि पहल भएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

चाँढै नै समस्याको समाधान गरेर आयोजनाको निर्माण कार्यलाई सुचारु बनाइने उहाँले बताउनुभयो । २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, पेनस्टक पाइप जडानको काम साठी प्रतिशतभन्दा बढी सकिएको आयोजनाले जनाइएको छ ।