ताजा समाचार:
Search

ढोरपाटनमा सिकार : एउटै नाउरको १२ लाख

चन्द्रप्रकाश शर्मा

बागलुङ, असोज १२ गते ।naur विश्वका साहसिक सिकारीको प्रमुख गन्तव्य ढोरपाटन सिकार आरक्षमा सिकारयाम सुरु भएको छ । हरेक वर्ष दुई सिजनमा सिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो सिजनको सिकारयाम सुरु भएको हो । पहिलो सिजन (असोज–मङ्सिर)का लागि १० वटा नाउर र छवटा झारलको सिकार हुनेछ । सिकारका लागि सिकार कम्पनीहरूले एउटा नाउरको बढीमा १२ लाख पाँच हजार र एउटा झारलको नौ लाख २० हजार रुपियाँ राजस्व विभागलाई बुझाएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको टेन्डर प्रक्रियाबाट चारवटा कम्पनीले सिकारी पठाउने जिम्मा पाएकोमा हालसम्म तीनवटा कम्पनीले विभागसँग सम्झौता गरी १० जना सिकारी सिकारका लागि आरक्षमा पठाउन लागेको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले जानकारी दिनुभयो ।
विभागले टेन्डर प्रक्रियामार्फत सिकार कम्पनीहरू छनोट गरेर सिकार गराउने गर्दछ । अहिलेको सिजनमा प्रतिनाउर सिकार गरेको दुई लाखदेखि १२ लाख पाँच हजार र प्रतिझारल सिकार गरेको एक लाखदेखि नौ लाख २० हजार रुपियाँमा टेन्डर स्वीकृत भएको छ ।

विश्वभरका साहसिक सिकारका लागि प्रख्यात मानिएको आरक्षमा सिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका सिकारी आउने गरेका छन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको सिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि सिकारीहरू आउने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ । सरकारले २०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो ।

विश्वमा वैधानिक रूपमा सिकार गर्न पाइने सयौँ सिकार आरक्ष भए पनि विश्वमा प्रख्यात सिकारीले नेपालको ढोरपाटन सिकार आरक्ष मुख्य गन्तव्यका रूपमा लिने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष दुई पटक (असोज–मङ्सिर) र (माघ–वैशाख)मा विभिन्न सिकार एजेन्सीमार्फत ढोरपाटन सिकार आरक्षमा सिकार गर्नका लागि नाउर र झारलको कोटा निर्धारण गरी कोटाअनुसार विभिन्न ‘हन्टिङ एजेन्सी’मार्फत टेन्डर प्रक्रियाबाट सिकार गराउँदै गराइन्छ ।

१५ दिनको सिकार अनुमतिसहित सिकार गर्न आउने पर्यटकले पानी पिउने बेला, साँझ, बिहान, खाने वस्तुको प्रयोग गरेर वा शारीरिक सम्पर्क भएका बेलाबाहेक अन्य समयमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर वा झारलको मात्र सिकार गर्न पाउने छन् ।

हतियार, गोली र क्यामेरा विदेशबाटै लिएर आउने सिकारीले हतियार र गोली अनुसार अनुमति दिएपछि मात्र सिकारी सिकार आरक्षमा प्रवेश गर्न पाउने कानुनी प्रावधान छ ।
भौगोलिक विकटताका कारण सिकारीहरू हेलिकप्टर चार्टर गरेरै सिकार क्षेत्रमा आउने गरेको सिकारीसँगै खटिने आरक्षका सिनियर गेमस्काउट वीरबहादुर थापाले बताउनुभयो । जङ्गली जनावरमध्ये नाउर र झारल चलाख हुने भएकाले पनि सिकार गर्न अति कठिन हुने गरेको सिकारीहरू बताउँछन् ।
सिकार गर्न सफल सिकारीले नाउर वा झारलको टाउको आफ्नो मुलुकमा लैजान पाउनेछन् भने सिकार गर्न नसक्ने रित्तो हात फर्कनुपर्नेछ । स्कटल्यान्डबाट सिकार खेल्न आएका सिमरोन के वारले ढोरपाटनमा सिकार गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । गोरखापत्रमा समाचार छ