अन्नपूर्ण क्षेत्रका होटलको क्षमता विस्तार गरिँदै

पोखरा, असोज २ गते । gorepani photo 6अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् ।

शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी अन्नपूर्ण गाउँपालिकाले त्यसको तयारी थालेको हो । लगभग ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक त्यहाँका भेडीगोठ र चित्रा÷भकारीले बारेका झुपडीमा बस्ने गरेका थिए ।

विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को विशेष पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे आधार शिविर र अन्नपूर्ण आधार शिविरसम्म २६ होटल सञ्चालन गरिएको थियो । मापदण्डअनुसार प्रत्येक होटलमा ६ कोठाका दरले हालसम्म १५६ कोठामा पर्यटकलाई बस्ने व्यवस्था मिलाइएको छ ।

वर्षेनी बढिरहेको पर्यटकको चापका कारण होटलको सङ्ख्या थप गर्ने विषय केही वर्षअघिदेखि उठे पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन । होटलबाट यसअघि एक्यापले नै राजश्व उठाउँदै आएकामा चालू आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले राजश्व उठाउँदै यहाँको व्यवस्थापन एवं दीर्घकालीन संरक्षणका लागि पहल थालेको छ । नयाँ संविधानअनुसार स्थानीय साधन स्रोतको संरक्षण एवं उपभोगको अधिकार स्थानीय तहलाई हुने प्रावधानअनुसार अन्नपूर्ण गाउँपालिकाले प्राकृतिक स्रोत साधन उपयोग कार्यविधि–२०७४ तयार गरिसकेको छ ।

संविधान कार्यान्वयनको विषयले देशव्यापी चासो र चर्चा पाइरहेका अवस्थामा गाउँपालिकाले स्थानीय साधन स्रोतको उपयोगका लागि कार्यविधि जारी गरी त्यस अनुरुप काम थाल्नु अन्य स्थानीय तहका लागि पनि अनुकरणीय विषय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ का कानूनी सल्लाहकार अधिवक्ता हरिप्रसाद भट्टराईले बताउनुभयो । कार्यविधिका आधारमा यहाँको पर्यावरणीय संरक्षण समेतलाई ख्याल गर्दै होटेलको क्षमता एवं सङ्ख्या विस्तारका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो ।

नजरमान गुरुङको संयोजकत्वमा गठित कार्यदलले अध्ययन थालिसकेको जानकारी दिँदै उहाँले कार्यदलको प्रतिवेदनअनुसार होटेलको क्षमता एवं सङ्ख्या वृद्धि गरिने बताउनुभयो । कार्यदलका सदस्य ललित गुरुङका अनुसार गत वर्षमात्रै अन्नपूर्ण आधार शिविरसम्म ३२ हजार विदेशी पर्यटक पुगेका थिए । “अन्नपूर्ण क्षेत्रमा होटल सञ्चालन शुरु गर्दा तत्कालीन समयमा पाँच हजारको सङ्ख्यामा विदेशी पदयात्री आएको तथ्याङ्क छ”, गुरुङले भन्नुभयो, “हाल त्यसको ६ गुणाभन्दा बढी विदेशी पर्यटक यस क्षेत्रमा आएका छन्, पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।”

पथप्रदर्शक एवं सहयोगी र आन्तरिक पर्यटक समेतलाई हेर्दा अघिल्लो वर्ष झण्डै ८० हजार पर्यटकले अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेका थिए । अन्नपूर्ण क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवद्र्धनलगायतमा सहयोग पु¥याउने उद्देश्यले अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७४ सम्पन्न गरिसकिएको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका गुरुङ बताउनुहुन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो ।

आठ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण गरिएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएको हो । घान्द्रुकबाट पदयात्रा गर्दै आधार शिविरसम्म पुग्न बाह्य पर्यटकले सामान्यतः चार दिनको समय छुट्याउने गरेका छन् भने आन्तरिक पर्यटक तीन दिनमै पुग्छन् ।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीयवासीले पकाएको दालभात, ढिँडोजस्ता लेकाली खाना खानुपर्ने बाध्यता रहेकामा पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि तयार गर्न थालेका छन् । विसं २०४३ मा एक्याप स्थापना भएयता स्थानीयवासीलाई विभिन्न समयमा तालीम दिइएको छ भने होटलले विदेशी परिकार बनाउन सक्ने तालीम प्राप्त कर्मचारी राख्न थालेका छन् ।

होटलको क्षमता एवं सङ्ख्या विस्तारका साथै प्रकृतिको अनुपम बरदानयुक्त पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेको बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित अति प्राचीन पूजनीयम् बराह र सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै त्यसको प्रचारप्रसार गर्नु अपरिहार्य भएको स्थानीयवासी बताउँछन् । रासस/गोरखापत्र अनलाइन