कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन माग

विकल्प न्यूज/बेनी

असोज १ गते ।DSC_0319गण्डकी प्रदेशको आईतबार बसेको संसद बैठकमा बेनी बजार संरक्षणका लागि निर्माणाधिन कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने आवाज उठेको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले शून्य समयमा बोल्दै निर्माणाधिन पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको हो ।

“नदी कटान नियन्त्रणका लागि निर्माणाधिन पर्खाल भत्कीनुमा कालीगण्डकीमा आएको बाढी मात्र नभएर प्राबिधकको डिजाईन र निर्माण ब्यवसायीको लापरबाही पनी देखिन्छ” सांसद केसीले भन्नुभयो “संसद मार्फत छानवीनका लागि सरकारको ध्यानाकर्षण गराउदछु ।”

गत बुधबार रघुगंगा नदीमा आएको बाढी कालीगण्डकीमा मिसीएर आउँदा एक सय मिटर भन्दा बढी पक्कि कंक्रिट पर्खाल पल्टीएको थियो । पर्खाल भत्टीदा करोडौ लगानी बाढीको भेलसंगै बगेको छ भने सदरमुकाम बेनी बजार जोखिममा परेको छ । पर्खाल छेउमा राखिएका एक्साभेटरमा केही दिन भएको आगोलागी समेत शंकास्पद भएको सांसद केसीको भनाई थियो ।

जिल्ला विपद् ब्यवस्थापन सतिमिको बिहीबारको बैठकले निर्माणाधिन पर्खाल भत्कीनुको कारण पहिचान गरेर प्रतिवेदन पेश गर्न सिचाई विकास तथा जलाधार संरक्षण डिभिजन कार्यालयलाई निर्देशन दिएको थियो । बजारबासीहरुले पनी कंक्रिट पर्खाल भत्कीनुमा सम्बन्धित कार्यालय र ठेकेदारको लापरबाही तथा ढिलासुस्ती जिम्मेवार भएको बताएका छन् ।

पर्खाल निर्माणको ठेक्का लिएको खड्का कृष्ण जेभीका सञ्चालक रविन्द्र कार्कीले भने बजारको ढल पर्खाल पछाडी फालीएको र बाढीका कारण पर्खाल भत्कीएको दावी गर्नुभएको छ । सांसद केसीले बाढी पहिरोबाट प्रभावीत रघुगंगा गाउँपालिकाको कुईनेमंगलेका बासिन्दालाई राहत, बाढीले बगाएको विद्यालय भवन पुननिर्माण र जोखिममा परेका बस्तीको संरक्षणमा प्राथमिकता दिन ध्यानाकर्षण गराउनुभयो । अवरुद्ध बेनी–जोमसोम सडक तत्काल खुलाउन उच्च प्राथमिकताका साथ पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।