मालिकाको प्रचुर पर्यटकीय संभावना

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
भदौ २५ गते । gaigharkh talम्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मालिका पर्यटकीय संभावनायुक्त गाउँपालिका हो । मालिकाको केन्द्र दरवाङ बजार हो । दरवाङलाई जिल्लाको दोस्रो सदरमुकाम भन्ने गरिन्थ्यो । पश्चिम क्षेत्रका अधिकांश गाउँहरुको व्यापरिक केन्द्र दरवाङ बजार हो । पछिल्लो समय चर्चामा आएको गुरिल्ला पदमार्ग र सन्सारकै सातौं अग्लो धौलागिरि हिमालको प्रवेशद्धार दरवाङ हो । मालिका गाउँपालिका कला संस्कृति र विभिन्न जातजातिको संगम स्थल हो ।

विभिन्न जातजातिको वसोवास रहेको मालिकामा पर्यटनको प्रचुर संभावना छ । मालिका प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिले सम्पन्न छ । अत मालिका पर्यटन विकासको प्रचुर संभावना छ । निजी क्षेत्रको अगुवाईमा २०७५ लाई म्याग्दी भ्रमण वर्ष मनाउन सुरु गरिएको छ । भ्रमण वर्षले मालिका गाउँपालिकाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन,प्रचारप्रसार र पूर्वाधार निर्माणमा के कति सहयोग मिल्छ त्यो भने हेर्न बाँकी नै छ ।
दरवाङ बजारको पर्यटकीय संभावना

new darbangचारै दिशा तिर पर्यटकीय क्षेत्रहरुले घेरिएको दरवाङ पर्यटनको राम्रो सम्भावनायुक्त क्षेत्र हो । मालिका गाउँपालिकाका सातै वडाहरुमा प्रशस्त धार्मिक एवम् पर्यटकीय क्षेत्रहरु छन् । ति क्षेत्रहरुको अवलोकन गर्नका लागि दरवाङ सँग साइनो गास्नै पर्दछ । गुरील्ला पदमार्गका पदयात्रीहरु दरवाङको नजर नलगाइकन अगाडि बढ्न सक्दैनन् भने धौलागिरि आधार शिविर पुग्नेहरु दरवाङ सँग रमाउन खोज्दछन् ।

त्यसका लागि दरवाङले पर्यटक मैत्री वातावरण तयार पार्नुपर्दछ । मालिकाका सातवटै वडाहरुमा रहेका पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधारको विकास र प्रचारप्रसार गर्न सकेमा मात्र दरवाङलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ । भविष्यमा दरवाङलाई पर्यटनको केन्द्र बनाउने गरि विकास गर्दै लैजाने सोच बनाएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगर बताउँनुहुन्छ ।

चारैतिर हरियाली डाँडाकाँडा र शान्त वातावरणमा रमाउन चाहने आन्तरिक एवम् वाह्ै पर्यटकका लागि उपयुक्त स्थानका रुपमा विकास गर्ने सकिने राम्रो सम्भावना छ । सदरमुकाम बेनी देखि दरवाङलाई जोड्न सडक पाँचवर्ष भित्र स्तरउन्नती हुँदै कालोपत्रे हुनसक्यो भने दरवाङको पर्यटन विकासमा कोशेढुङ्गा सावित हुन्छ । गाउँपालिका केन्द्र देखि पर्यटकीय क्षेत्रहरुलाई सडक सञ्जाल सँग जोड्ने योजना गाउँपालिकाले बनाएको छ ।

यसका साथै पर्यटकका लागि आवश्यक पर्ने न्यूनतम खाने बस्ने सुविधायुक्त होटल जस्ता पूर्वाधारको विकासमा लगानीको आवश्यक छ । न्यूनतम यातायातको सुविधा, संचारको प्रबन्ध, होटलबासको प्रबन्ध, शान्ति सुरक्षाको प्रत्याभूति र दृश्यावलोकन गरिने ठाउँहरूको निर्धारण र सहज पहुँचको व्यवस्था हुनसकेमा दरवाङलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न धेरै समय कुनुपर्ने पर्दैन ।

संसारको सातौं अग्लो धवलागिरी हिमाल धौलागिरि गाउँपालिकाको ४ मुदीमा छ । पछिल्लो समय धौलागिरि हिमाल आरोहणमा पर्यटकहरु आकर्षीत छन् । हिमाल आरोहण गर्न निस्केका वाह्यै पर्यटकहरुलाई दरवाङमा एकरात वासवस्न सक्ने वातावरण तयार पार्नसकेमा यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।
मालिकाको पर्यटन गुरुयोजना
मालिकालाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नका लागि गाउँपालिकाले पर्यटन गुरुयोजना बनाएको छ । आगमी पाँचवर्ष भित्र करिव सात कारोड पचास लाख लगानीको प्रस्ताव सहित तयार परिएको पर्यटन गुरुयोजनाले मालिकाको पर्यटन प्रवद्र्धनमा थप सहयोग मिल्ने अपेक्षा गरिएको छ । गुरुयोजना अनुसार गाउँपालिकाले लगानी गर्नसकेमा मालिकाले आगमी पाँचवर्ष भित्र पर्यटनमा फड्को मार्न सकिने देखिन्छ ।

पर्यटकीय क्षेत्रहरुमा पुग्नका लागि पदमार्गको निर्माण र रुम,देविस्थान,निस्कोट र बिममा होमस्टेको विकास गर्नुपर्दछ । जिल्लाकै सांस्कृति धरोहरका रुपमा रहेको मालिका धुरीलाई पूर्वाधारयुक्तले सम्पन्न बनाउनुपर्दछ । त्यहाँ सम्म पुग्नका लागि पदमार्गको निर्माण र प्रचारप्रसार गर्नसकेमा मालिका धुरीलाई पर्यटनको राम्रो गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।
भर्जिन गन्तव्यहरु
रुमको दुरुलेक,निस्कोटको बराह ताल,देविस्थानका गाइखर्कताल, ओखरबोटको सिस्नेरी र दरवाङको भालेवास्ने ताललाई भर्जिन गन्तव्यका रुपमा लिन सकिन्छ । यी क्षेत्रहरुमा पदमार्गको विकास गर्नसकेमा पर्यटन विकासमा टेवा पुग्छ । अर्को तर्फ जलविद्युतको राम्रो संभावना भएको गाउँपालिका हो ।

दरवाङ र धौलागिरि आसपासमा निर्माण हुने जलविद्युत आयोजनाहरुले यहाँको पर्यटन विकासमा ठूलो योगदान पु¥याउने देखिन्छ । यसका साथै कृषि र पशुपालनका क्षेत्रमा लगानी गरि आधुनिक कृषि प्रणालीलाई योजनावद्ध तरिकाले अगाडि बढाउन सकेमा कृषि पर्यटनका रुपमा विकास गर्न सकिने राम्रो सम्भावना पनि छ । गाउँपालिकाले नमुना कृषि फार्म बनाउन सकेमा कृषि क्षेत्रलाई पनि भर्जिन पर्यटकीय गन्तव्यका रुपमा लिन सकिन्छ ।

चुनौतीहरु
मालिकाको पर्यटन विकासको जति सम्भावना छ त्यती नै चुनौतीपूर्ण छ । दरवाङ आसपासका क्षेत्र पर्यटन विकासका लागि जति उर्वर छ त्यति व्यवहारिक रुपमा योजना निर्माण र कार्यान्वयनमा समस्याहरु छन् । किनभने मालिकाको भू–बनोट विविधतायुक्त छ । अहिले नै सवै क्षेत्रतिर पूर्वाधार विकास गर्न सम्भव छैन ।

गाउँपालिकाले पर्यटन गुरुयोजना मार्फत संभावनायुक्त क्षेत्रको विकास र प्रचारप्रसार गर्दै लैजाने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी बताउनुहुन्छ । तर सिमिति श्रोतसाधन छ । पर्यटकहरूका लागि खानबस्नका लागि राम्रो सुविधाको प्रबन्ध मिलाउनु अनिवार्य छ ।

प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिले सम्पन्न क्षेत्र भएको हुनाले यहाँ पर्यटन विकासको अत्यधिक संभावना छ । तर पर्यटन विकासका लागि चाहिने न्यूनतम पूर्वाधार निर्माणका दृष्टिले मालिका धेरै पछि छ । त्यसकारण पर्यटकहरू आउनका लागि चाहिने सुलभ यातायातको व्यवस्था, खानबस्नका लागि सुविधाका साथै दृश्यावलोकन क्षेत्रको निर्धारण पर्यटन विकासका अत्यावश्यक पूर्वाधारहरू हुन् । जसको निर्माणमा स्थानीय सरकारले प्रशस्त रुपमा लगानी गर्नुपर्दछ । त्यो अहिले नै कति संभव होला ?

थमन गौतम
सचिव
म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ इकाई

thaman gautam भर्खर मात्रै साधारणसभा सम्पन्न भएको छ । साधारणसभा मार्फत मालिकामा भएका धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार जोड दिने निर्णय गरेका छौं । म्याग्दीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको म्याग्दी भ्रमण वर्ष २०७५ लाई भव्य रुपमा सफल पार्नका लागि दरवाङ इकाईले कुनै कसर वाँकी नराखी प्रचारप्रसारमा जुट्ने छौं । गाउँपालिका सँगको समन्वय र सहकार्यमा मालिका गाउँपालिकामा रहेका धार्मिक एवम् प्राकृतिक पर्यटकीय क्षेत्रहरुमा पदमार्ग,भ्युटावर र पूर्वाधार निर्माणमा जुट्ने हाम्रो योजना छ । यसका साथै भ्रमण वर्षको अवधिमा रुमको दुरलेक,मालिका धुरी,देविस्थानको गाइखर्कताल,देउता भिर,वराह ताल लगायतका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र प्रचारप्रसारमा सकृयतापूर्वक जुट्ने छौं । नवविकल्प साप्ताहिकमा प्रकाशित