“दाइ, म त अब समाजसेवी बन्छु !”
लक्ष्य बदलिएछ उनको ।
गएको हप्ताको मात्रै कुरा हो, म्याग्दी, बेनी– ६ की पूजा खत्री सहरको ‘हट केक’ बनिन् । अनलाइन, छापा, टेलिभिजनमा समाचारको हेडलाइनमा छाइन् । गरिबी, अभाव र दारिद्र्यको खाडलमा आकण्ठ जाकिएकी पूजा एकाएक ‘सेलिब्रिटी’ बनिन् ।
बेनी– ६ कै जामुनाखर्क विद्यालय कक्षा ६ की छात्रा । विद्यालयको त्रैमासिक परीक्षा नजिकिँदै थियो । कापीकलम किन्ने पैसा थिएन । परीक्षाको बेला, कापी त स्कुलले नै दिन्थ्यो, कलम पनि साथीसंगीसँगै माग्दा हुन्थ्यो । बेलाबखत दिएकै पनि थिए ।
समस्याको गह्रुँगो भारी अर्को थियो– घरमा चामलको गेडो थिएन । कुन्यूँको मकै सिध्धिएको उहिल्यै हो । बारीको हरियो मकैले पनि धर्म छाडिसकेको थियो । उता स्कुलबाट तारन्तार खबर आएको आयै छ– जसरी हुन्छ भोलिदेखि स्कुल आउनू !
भोकै पेट परीक्षामा कसरी सामेल हुनु !
उनले विचार गरिन्– “म स्कुल नगएपछि स्कुलले निकाल्दिइहाल्छ । बरू आफैँ ‘रेस्टिगेट’को याचना गर्छु ।”
“घरमा खानेकुरा पनि छैन । कापी–कलम किन्न पैसा पनि छैन । म अबदेखि स्कुल आउन सक्दिन । मलाई रेस्टिगेट गरिदिनू !,” पत्र लेखिन् पूजाले ।
शरीर निर्धनले खिइएर के भयो, अक्षरमा तागत हुन्छ । शब्दसँग सामर्थ्य हुन्छ ।
र त, त्यही पत्रमा कोरिएका शब्दले पूजाको जीवनको लय बदल्दियो । केहीबेर अघिसम्म जीवनमा निराकार झरी परिरहेको थियो । आकाशमा जताजतै काला बादल मडारिइरहेका थिए । छ्यांग उघ्रिएर झलमल्ल घाम पो लाग्यो ।
चिट्ठीको अन्तरकथा
पूजा खत्रीको चिट्ठी फगत भावुक उद्वेग होइन । न शब्दको चलाखी र आँसुको ‘व्यापार’ नै छ त्यसमा । ‘रेस्टिकेट’को याचनाभित्र केवल वेदनाको विलाप छ ।
बाबु कहिल्यै होसमा नहुने । घर पनि नआउने । घर आउँदा रक्सीको नशा, मदिराकै मनोदशा बोकेर आउने । घरपरिवारका सदस्यलाई कुटपीट गरेमात्रै त सहनुहुन्थ्यो । घरका झ्याल–ढोकासमेत तोडफोड गर्न थालेपछि आमाले विवश भएर घर छाडिन् र माइतीतिरै बस्न थालिन् ।
हजुरबाबु वृद्ध भइसके । वृद्धभत्ताले लगभग ज्यान पालिन्थ्यो । त्यो पनि बाबुले देखिसहेनन् । रातविरात आएर घाँटी अँठ्याउने । ‘वृद्धभत्ता दिन्छस् कि, मार्दिऊँ !’ भनेर धम्क्याउन थालेपछि गाउँका आफन्तजनको सहयोगमा उनी देवघाटको गलेश्वर आश्रमभित्र रहेको वृद्धाश्रमको शरण परे ।
तर, त्यहाँ पनि धेरैदिन बस्न पाएनन् ।
जामुनाखर्क माध्यमिक विद्यालयका नेपाली शिक्षक रामप्रसाद सुवेदी भन्छन्, “हजुरबाबुसमेत घरमा नभएपछि रातदिन रक्सी खाएर आएर छोराछोरीलाई पिट्न थालेछन् ।
छरछिमेककाले थाहा पाएर ती लालाबालालाई पनि गलेश्वर आश्रममै पुर्याइदिए । वृद्धाश्रम, बालबालिकासमेत राख्ने कुरा भएन । हजुरबाबुको समेत आश्रय गुम्यो ।”
तीन नातिनी र एक नातीलाई लिएर हजुरबुबा गाउँ नै फर्किए । यो एक डेढ वर्षअघिको कुरा हो ।
हजुरबुबा गाउँ फर्किए पनि उनीहरूको सुदिन फर्किएन ।
आइतबार बाह्रखरीको कार्यालयमै आएकी पूजा विरह सुनाउँछिन् । ११ वर्षकी मात्रै थिइन् । घर–व्यवहार, दुःख–दरिद्र, अभाव–पीडा नै विद्यालय बनेका थिए । ती सबैले जिन्दगीको पाठ क्रमशः रटाउँदै थिए । जाँच नदिए पनि कक्षा ५ पढिहालेँ भनेर गतसाल काठमाडौँ अर्काको घरमा भाँडा माझ्न आइन् ।
‘ज्यादै दुःख पाई, काठमाडौँमा पुर्याउन सकियो भने भाँडै माझेर भए पनि एक पेट त खान पाउँथी’ भन्ने ठानेर आफन्तले नै पूजालाई काठमाडौँको बाटो तताइदिएका दिए ।
जाडोयाम । हात कट्कटी खान्छ । बालख ज्यान । भीमकाय परिवारको भाँडा माझ्न कतिञ्जेल सक्नु ? हरेस खाइन् । ६ महिनापछि उनी घरै गइन् र जेनतेन परीक्षा दिइन् ।
पूजाले अर्काको घरा बाँधा बस्न इन्कार गरिन् । त्यही नियति बेहोर्ने पालो आयो माइली बहिनी पुष्पा खत्रीको । पूजा घर गएलगत्तै अर्का आफन्तले पुष्पालाई काठमाडौँ लिएर हिँडे र जूठाभाँडा माझ्ने काममा भर्ती गरिदिए ।
गरिबीको यी सबै दुष्चक्र सहँदै, बेहोर्दै आएकी पूजा जिन्दगीदेखि निराश थिइनन् । बिहानै उठ्ने । गाईलाई खोलेपानी गर्ने । चुल्हाचौका पोत्ने । हजुरबाबु, भाइबहिनीलाई पकाएर खुवाउने । भाइबहिनीलाई स्कुल पठाएपछि आफू पनि विद्यालय जाने गरेकी थिइन् ।
तर, साउन अन्तिम सातादेखि भने मन निराश बन्न थाल्यो र १ भदौमा चिट्ठी नै लेखेर विद्यालयबाट बाहिरिने निधो गरिन् ।
जब चिट्ठी भाइरल भयो
समाचारमाध्यम तथा सामाजिक सञ्जालमा चिट्ठी भाइरल भएकोबारे विल्कुल अनभिज्ञ छिन् उनी । चिट्ठी लेखिन् । सहपाठीलाई बुझाएर त्यही दिन मामाघर पर्वत लिस्ती पुगिन् । चिट्ठी पठाउँदा पनि उनले सुख पाएकी थिइनन् । शिक्षकले ‘जसरी हुन्छ, विद्यालय आउनु, कापीकलम यहीँ दिउँला’ भनेका थिए ।
मामाघर गएर बिलौना गरिन्, “स्कुललाई रेस्टिगेट’ गरिदिनु भनेको मान्नु नै हुन्न । बोलाको बोलाई गर्नुहुन्छ । घरमा केही खानेकुरा छैन कसरी जाँच दिनू ?”
मामाघरमा पनि पैसा रहेनछ । आमा पनि असह्य बिरामी भएर पोखरा उपचारका लागि गएकी रहिछन् ।
“यति छ, यसैले पुर्याउनु, जाँचचाहिँ नछुटाउनू है भान्जी” भन्दै मामाले सय रुपैयाँ दिएछन् ।
त्यही पैसा लिएर उनी घर आइन् र परीक्षा दिन गइन् ।
परीक्षाको पहिलो दिन नै उनको पत्र ‘भाइरल’ भइसकेको थियो । परीक्षा चलेको दोस्रो दिन थियो, प्रधानाध्यापक सोमनाथ ढुंगानाले सुनाए, “नानी कापीकलको चिन्ता गर्नु पर्दैन । बैंकमा तिम्रो नाममा खाता खोलेको छ । तिमीलाईमात्रै होइन, अब भाइबहिनीलाई पनि पढाउन पुग्छ । राम्ररी पढ्नू !”
शुरूमा त उनले पत्याएकी थिइनन् । सञ्चारमाध्यम, सहयोगी हातहरू पूजा खत्रीको घर खोज्दै आइसकेका रहेछन् ।
“त्यसपछिमात्रै चाल पाएँ पत्रको तागत,” उनी सुनाउँछिन् ।
भाइबहिनीलाई डाक्टर बनाउँछु
चिट्ठी नलेखुञ्जेल उनीसँग कुनै सपना थिएनन् । सपनाको रङ र जिन्दगीको आकार कस्तो हुन्छ, बालख मगजले ठम्याउन सकेको छैन । एकपेट खान, एक झुम्रो लाउन र स्कुल जान पाएमात्रै पुग्थ्यो । त्यसबाहेक एउटा गाई, एउटा बाछी, अशक्त हजुरबुबा र दुई भाइबहिनीको लालनपालनबाहेक अरू कर्तव्य पनि थिएनन् ।
चिट्ठी भाइरल भएपछि देश, दुनियाँ बुझेकी पूजाको अन्तरहृदयमा सपनाले हाँगा हाल्न थालिसकेछन् ।
दाताले तीन भाइबहिनीलाई स्थानीय बोर्डिङ स्कुलमा भर्ना गरिदिन तत्पर भएका छन् । अमेरिका निवासी ती दाताले प्रारम्भीक चरणको पैसा पठाइदिनेबित्तिकै तीन भाइबहिनी नै बोर्डिङ स्कुलमा पढ्न थाल्नेछन् ।
दिदीको चिट्ठी भाइरल भएपछि नै माइली बहिनीको उद्धार भएको छ । पत्रकार हरिकृष्ण गौतमको सहयोगमा उनी अहिले घर पुगेकी छिन् । दिदीको सहयोगी बनेकी छन् ।
पेटभरि खान पाउनु पनि ‘आकाशको फल’ ठान्ने हजुरबुबाको अनुहारमा पहारिलो घाम लागेको छ ।
“तीनैजना भाइबहिनीलाई डाक्टर बनाउँछु दाइ,” पूजाले लक्ष्य सुनाइन् ।
जब साथीहरूले डाँको छाडे
पूजाले न्यूज २४ को ‘सीधाकुरा जनतासँग’ अन्तर्वार्ता दिएपछि कक्षाका साथीसंगीले समेत थाहा पाएछन् ।
कक्षामा ती साथीले रुँदै भने रे, “पूजा तिमी त ठूलो मान्छे भयौ, टीभीमा समेत आइसक्यौ । कापी–कलम नभए हामी दिउँला । तिमी हामीलाई छाडेर कतै नजाऊ ल !”
त्यसअघि उनी बोर्डिङ स्कुल नै पढ्न पाए पनि हुन्थ्यो भन्ठान्थिन् । त्यसो त बोर्डिङ स्कुलकै किताब हेरेर पढेर ‘रेस्ट्रिकेट’ लेख्न जानेकी रहिछन् उनले ।
“मामाघर गइरहन्थेँ । मामाका छोराछोरी सबै बोर्डिङ स्कुल पढ्थे । मामाघर हुँदा मामाका छोराछोरीसँगै उनीहरूका किताब पढ्थेँ । अंग्रेजी त्यसैगरी सिकेकी हुँ । ‘रेस्टिगेट’ भनेर त्यहीँ लेखिएको थियो,” उनी सम्झिन्छन् ।
साथी, शिक्षकसमेतले विद्यालय नछाड्न सुझाव दिएपछि उनी त्यही विद्यालय पढ्ने निधो गरेकी छिन् ।
समाचारमाध्यममा आउनुपूर्व उनको मथिङ्गलमा अमीट छाप बसेको रहेछ । गाउँको पसलमा सधैँ उधारो माग्न जानुपर्ने । उनीमात्रै होइन, गावैँले उधारो माग्ने ठाउँ रहेछ त्यो ।
साहू त भइहाले, गाउँले सबैले हात जोड्दै उधारो माग्न जाँदा रहेछन् । उनको नियति पनि त्यस्तै थियो । साहू सामान दिने बेलामा सधैँ झर्कोफर्को गर्दा रहेछन् ।
त्यसैले उनको मनमा लागेको रहेछ– “पैसा खातामा जम्मा भयो भने पसल खोल्छु । कसैलाई पनि हप्कीदप्की नगरी सबैलाई उधारो दिन्छु । साहुजी बन्छु ।”
तर, अहिले त्यो सपना बदलिएको छ ।
“दाइ म त समाजसेवी बन्छु, बुझ्नुभो !,” उनले फेरि पनि आफ्नो लक्ष्य सुनाइन् ।
“किन ?”
“समाजसेवी नभइदिएको भए मैले पढ्न पाउँदिनथेँ । खान पनि पाउँदिनथेँ, त्यसैले !,” उनले सोझो उत्तर दिइन् ।
अहिले उनको खातामा झन्डै दश लाख रुपैयाँ जम्मा भइसकेको छ । देशविदेशका सहृदयीले सहयोगको हात बढाएका बढायै छन् । घरमा खानेकुरा पनि मनग्गे जम्मा भएको छ ।
मैले भनेँ, “तिमी घरकी जेठी छोरी, बाबुआमा दुवैलाई बोलाउँदिनौँ त !”
“नाइँ दाइ !,” उनले प्रतिवाद गरिन् ।
सँगै थपिन्, “सामान्य चिट्ठीले यत्रो हल्लाखल्ला भयो । देशदुनियाँकाले भावुक भएर सहयोगको हात बढाए । एउटै वडामा फर्निचर पसलमा काम गर्ने बाबुलाई चाहिँ त्यो पत्रले पोलेन । साउन दश गतेदेखि उहाँको नाकमुख देखेको छैन । मनले कसरी मान्छ र ?”
उनले यो पनि भनिन्, “आमालाई पनि हामीलाई छाडेर जाने मन थिएन । बाबुले नै बस्न–खान दिएनन् । खुट्टा भाँचिएका हजुरबुबा रातदिन रुनुहुन्थ्यो । बाबु त नआएकै जाती !”
बाह्रखरीको कार्यालयमै आएर सहयोगीहरूले १ लाख ३ सय ५३ रुपैयाँ पूजा खत्रीलाई हस्तान्तरण गरे ।
रकम बुझ्दा उनको हात थररर्र काँपे । बासिबिदो बसेका आँखा चम्किला देखिए । अनुहारमा सहगोगीप्रति कृतज्ञ भाव देखियो ।
हाँसेर बिदा मागिन् । कालो मास्कले मुख छोपेर हिँडिन् ।
पढ्न पाइनँ भनेर पूजा खत्रीले अब कहिल्यै रुनु पर्दैन । साभारः baahrakhari.com