ताजा समाचार:
Search

स्वास्थ्यचौकीलाई कार्यालय व्यवस्थापनका सामग्री सहयोग

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, भदौ १२ ।IMG_0401म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जामा नवनिर्मित स्वास्थ्यचौकीको भवनलाई कार्यालय व्यवस्थापनका सामग्रीहरु सहयोग भएको छ । एकीकृत पोषणको क्षेत्रमा काम गर्दै आइरहेको मिलन म्याग्दीको साझेदारीमा सञ्चालित सुआहारा कार्यक्रममार्फत सामग्री सहयोग गरिएको हो ।

कार्यालय व्यवस्थापन गर्नका लागि आवश्यक टेबुल २ थान, प्लाष्टिक कुर्सी तीनवटा, सूचना पाटी, ह्वाइट बोर्ड, थर्मस (हटपट), घुम्ने कुर्सी, प्याकसहित विभिन्न १० प्रकारका सामानहरु उपलब्ध गराइएको सुआहारा म्याग्दीले जनाएको छ । सुआहाराका जिल्ला संयोजक कामना प्रधान, फिल्ड संयोजक बालकुमारी पुन र फिल्ड सुपरभाइजर भीमकुमारी बुढाथोकीले वडा अध्यक्षद्वय कविन्द्र रोका, ओमबहादुर पुन र स्वास्थ्यचौकी इन्चार्ज विश्व श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै सुआहारा जिल्ला संयोजक कामना प्रधानले नयाँ भवनको कार्यालय व्यवस्थापनमा सघाउने उद्देश्यसहित सामग्रीहरु सहयोग गरिएको बताइन् । सामग्री बुझ्दै स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष कविन्द्र रोकाले कार्यालयको दैनिक कार्यसम्पादनमा प्राप्त सामग्रीले सहयोग पुग्ने बताएका छन् । अर्का वडाध्यक्ष ओमबहादुर पुनले नवनिर्मित स्वास्थ्यचौकीको भवनबाट प्रभावकारी सेवा प्रवाह गरिने बताए ।

कार्यक्रमको अवसरमा वडा कार्यालयमार्फत सुआहाराका जिल्ला संयोजक प्रधानलाई विदाई समेत गरिएको थियो । वडाध्यक्ष रोकाको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज विश्व श्रेष्ठको स्वागत र अहेव बबरजङ पालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच सोही अवसरमा बराङ्जाको थर्पु गाउँमा सुनौला हजार दिनका आमाहरुको सहभागितामा पोसिलो खाना बनाएर प्रदर्शनी गरिएको थियो । बच्चा जन्मेर ६ महिना पुगेपछि थप खानाको आवश्यकता पर्ने भएको हुँदा घरमा उत्पादन हुने खानालाई लिटो, जाउलो बनाएर खुवाउँदा बच्चाले सजिलैसँग पचाउन सक्ने हुँदा स्वस्थकर मानिन्छ ।