मृगौला पीडित सुरेशको उपचारका लागि विद्यार्थीले जुटाए ४३ हजार

विकल्प न्यूज/बेनी
भदौ ७ गते । DSC_0188मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि विद्यार्थीले ४३ हजार पाँचसय १५ रुपियाँ जुटाएका छन् । संकलित रकम सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई विहिवार हस्तान्तरण गरिएको हो ।

मगर विद्यार्थी र छन्त्याल विद्यार्थी संघले संयुक्त रुपमा बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र माउन्ट एभरेष्ट बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजाको रकमबाट बचाएर सुरेशको उपचारमा सहयोग गरेको छन्त्याल विद्यार्थी संघका सचिव अमर छन्त्यालले बताउनुभयो । प्रकाश माविमा १२ हजार ६ सय पचास र माउन्टमा ३० हजार ८ सय ६५ रुपियाँ संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक संकलन अभियानलाई विद्यार्थीहरुले जारी राख्ने मगर विद्यार्थी संघकी अध्यक्ष अनु राम्जालीले बताउनुभयो । कलिलै उमेरमा दुवै मृगौला फेल भएका छन्त्याललाई आर्थिक अवस्थाका कारण उपचारबाट बन्चित हुनुनपरोस भनेर विद्यार्थीहरुले सहयोग अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । विद्यार्थीहरुले आफ्नो खाजा खाने रकमबाट कटाएर सहयोग गरेको उहाँले बताउनुभयो ।DSC_0190यसै गरि मंगला गाउँपालिका १ कुहुँका लुल वहादुर रोकाले पाँचहजार एकसय ७ रुपियाँ सहयोग गर्नुभएको छ । साथै बेनी नगरपालिका ६ चुत्रेनी घर भई हाल इराकमा रहनुभएका कृष्ण मल्ल ठकुरीको नेतृत्वमा करिव एकलाख रुपियाँ सहयोग संकलन भएको कोषले जनाएको छ ।

घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । छन्त्यालको उपचारका लागि सक्दो सहयोग गर्न अध्यक्ष शाक्यले सवैमा अनुरोध गर्नुभएको छ ।

बेनीको माउन्ट एभरेष्ट आवासिय माविको कक्षा १२ मा अध्ययन गर्ने छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेको एक महिना अघि पहिचान भएको थियो । टिचीङ अस्पतालका चिकित्सक कमल लामिछानेको निगरानीमा काठमाडौमा उपचार भइरहेको पीडितकी आमा सिता छन्त्यालले बताउनुभयो ।

औषधि उपचारका लागि २५ देखि ३० लाख रुपैयाँ आवश्यक पर्ने सिताले बताउनुभयो । परिवारले हालसम्म तिन लाख पचास हजार रुपैयाँ खर्च गरिसकेका छन् ।

छन्त्यालको उपचारका लागि कोषले आजिवन सदस्य डकबहादुर रोकाको संयोजकत्वमा सुरेश बचाउ अभियान सञ्चालन गरेको छ ।