ताजा समाचार:
Search

“डोजरे” विकासको परिणाम ः पहिरो, भुक्षय र कटानको जोखिम

Main News Photo (1)रघुगंगा गाउँपालिका ६ पाखापानीको कमनाथमा खसेको पहिरो पार गर्दै प्रजिअ लिलाधर अधिकारी, प्रनाउ बिरबहादुर बुढा लगायत सुरक्षाकर्मीहरु । तस्विर सन्तोष गौतम

उपकरणको कम्पनले खलबलिएको जमिन बर्खाको पानीले गलेर बग्ने, सडकमा संकलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासीने, भुक्षय हुने, नदीमा बाढीको आयटन बढेर कटान गर्ने क्रम बढेको जिल्ला भु–संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

“भु–संवेदनशिलता लाई ध्यान नदिएर डोजर चालकले आफुखुसी खनेका सडक म्याग्दीमा विपद्को प्रमुख कारण बनेको छ” अधिकृत पौडेलले भन्नुभयो “डोजरको कम्पनले भित्रैसम्म थर्कीएको जमिन बर्खामा पानीले भिजेर पहिरोको सिर्जना भएको छ ।” Main News Photo (2)उपभोक्ता समितिले सडकको नयाँ ट्याक बनाउँदा पर्खाल लगाउने, वृक्षारोपण गर्ने, भल ब्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापनमा ध्यान नदिँदा पहिरोको समस्या बढेको पौडेलले बताउनुभयो । कम लागतमा छिटो काम गर्न हेभी ईक्युभमेन्ट उपयोगी भएपनि पछिल्लो समय कमिसनको खेलमा जथाभावी डोजर डुलाएर बजेटको दुरुपयोग बढेको गुनासो बढेको छ ।

वातावरणीय र प्राबिधिक पक्षलाई ध्यान नदिएर पाखो जमिनमा जथाभावी खनिएका सडक दिगो नहुने, लगानी खेर जाने, अवरुद्ध बनेर सर्वसाधारणले सुबिधा नपाउने, बस्ती, खानेपानी, सिँचाई, भवन पूर्वाधारमा क्षति पुगेको छ । बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्तमा डोजर डुलाएर पाखो खन्ने प्रवित्तिले विपद् बढाएको मालिका गाउँपालिका १ घोर्सीका मानसिङ सापकोटाले गुनासो गर्नुभयो ।
“सडक खन्ने नाउमा डोजर डुलाएर जमिन भत्काएर बर्षेनी करोडौ बजेट सकिएको छ” सापकोटाले भन्नुभयो “दिगो काम नहुँदा जनताले सुबिधा भन्दा सास्ती, त्रासदी र विपद्को सामना गर्नुपरेको छ ।” दरवाङ–निस्कोट सडक खनिएपछि केही वर्षयता घोर्सी गाउँ पहिरोको जोखिममा परेको छ । बर्षातसंगै अधिकांश ग्रामिण सडक अवरुद्ध हुँदा आवत जावत र ढुवानी प्रभावित बनेको छ । जिल्ला भुसंरक्षण कार्यालयले पहिरो र भुक्षयका कारण म्याग्दीबाट वार्षिक पचास लाख घनमिटर माटो बगेर जाने गरेको जनाएको छ ।

साना–ठूला गरी १८ वटा पहिरो भएको म्याग्दीका दुई हजार १०० घरधुरी पहिरो, नदीकटान, भुक्षय र बाढीको जोखिममा रहेका कार्यालयले जनाएको छ । पात्लेखेत, तोराखेत, पाखापानी, लमसुङ, मुना, मुदी, शिख, कुईनेमंगले, बेगखोला बर्षौदेखि पहिरोको चपेटामा छन् ।

यस वर्ष दग्नाम, सुर्केमेलामा पहिरो र भुरुङ तातोपानीमा बाढीले क्षति पु¥याएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार नेपालको जोखिमयुक्त जिल्ला सदरमुकाम मध्य एक हो । जोखिमयुक्त ठाउँ र बस्तीको पहिचान, क्षति न्युनीकरणका लागि सर्तकता र विपद्पछिको राहत, उद्धार र ब्यवस्थापनका लागि उच्च सर्तकता अपनाइएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो ।

पहिरो र भुक्षयको उच्च जोखिमयुक्त जिल्लाको सूचिमा रहेको म्याग्दीमा संघीय संरचनाको कार्यान्वयनसंगै यसै आर्थिक वर्षदेखि भुसंरक्षण कार्यालय खारेज हुन लागेको छ । स्थानीय तहले भुक्षय, पहिरो र नदी कटान रोकथामका लागि बजेटमा प्राथमिकता नदिएको जनगुनासो छ ।

कार्यालय खारेज हुँदा जोखिमको पहिचान, साबधानी र व्यवस्थापनमा समस्या देखिने भएकाले डिभिजन कार्यालय राख्नुपर्ने सरोकारवालाहरुको माग छ । पहिरो र भुक्षयको समस्या न्युनीकरणका लागि विस्तृत अध्ययन गरेर सडकको ट्याकसंगै पर्खाल, नाली बनाउने, वृक्षारोपण गर्ने र माटो ब्यवस्थापनमा उपभोक्ता समिति, स्थानीय तहका जनप्रतिनिधीहरु गम्भिर बन्नुपर्ने जिल्ला प्राबिधिक कार्यालयका ईञ्जिनियर रवीन मर्हजनले बताउनुभयो । नवविकल्प साप्ताहिकमा प्रकाशित