ढिलासुस्तीप्रति मुख्यमन्त्री गुरुङको आक्रोश

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ साउन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार योजना र सार्वजनिक सेवा प्रवाहमा भएको ढिलासुस्तीप्रति कडा रुपमा प्रस्तुत हुनुभएको छ ।DSC_0041 म्याग्दीको बेनीमा जिल्ला समन्वय समितिले बिहीबार आयोजना गरेको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नितीगत र नियतबस हुने ढिलासुस्तीका कारण पूर्वाधार विकासको काम प्रभावीत भएको बताउनुभयो ।

“प्रक्रियागत र नितीगत रुपमा हुने ढिलासुस्ती हटाउन राज्यले पहल गर्ने बताउँदै निर्माण ब्यवसायी, प्राबिधिक र कर्मचारीका कारण भएको ढिलासुस्तीप्रती सबैले खबरदारी गर्नुपर्छ” मुख्यमन्त्री गुरुङले भन्नुभयो “बर्षौदेखिको यो रोग तोड्न सरकारलाई समाजको साथ र सहयोग चाहीएको छ ।”DSC_0045कालीगण्डकी कोरीडोरलाई प्रदेश राजधानी पोखरा र नवलपरासीको त्रिवेणी नाका जोड्ने, कोरला नाका खुलाउने, त्रिवेणी भन्सारको स्तरोन्नती गर्न प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री गुरुङले बेनी–जोमसोम–कोरला सडक आयोजनामा भएको ढिलासुस्तीप्रती असन्तुष्टि व्यक्त गर्नुभयो ।

असारे विकासको प्रवृतीले विकास र आर्थिक वृद्धीदरमा असर पारेको बताउँदै उहाँले बजेट बिनियोजन भएका योजनाको प्रभावकारी अनुगमन, समस्या समाधानका लागि सहजिकरण र समन्वयका लागि राज्यका सबै निकाय संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।

कर प्रणालीलाई एकद्धार, प्रगतिशिल बनाउने जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले भ्रष्ट्राचार र ढिलासुस्ती न्युनीकरण, शुसासन कायम गर्न जिल्ला समन्वय समितिको सक्रिय भुमिका आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रादेशिक विश्वविद्यालय, प्राबिधिक महाविद्यालय स्थापना, खेल प्रशिक्षण केन्द्र र सांस्कृतीक प्रतिष्ठान गठनको तयारी भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा र प्रदेससभा सदस्य बिनोद केसीले बजेट बिनियोजन भएर पनी अपेक्षाकृत काम र उपलब्धि हुन नसकेको विषयमा चिन्ता व्यक्त गर्नुभयो । म्याग्दीका छ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र जिससका पदाधीकारी सहभागी सभामा समिति मार्फत गत वर्षमा भएका गतिबिधीमाथी छलफल भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत र योजना अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनितिक दल र संघ संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधीहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।