जिल्ला प्रशासन कार्यालय म्याग्दीले २० दिनमै राहदानी वितरण

सन्तोष गौतम
बेनी ११ साउन ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिस दिनमै राहदानी पाउने ब्यवस्था मिलाउने भएको छ ।

प्रशासनमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ लिलाधर अधिकारीले साधारण सिफारीस मार्फत हाल ४५ दिनमा राहदानी आउने गरेकोमा अब सो अबधिलाई छोट्याउन लागीएको जानकारी दिनुभयो ।

यसै महिनाभित्र प्रशासनबाट सिधै काठमाडौ बिभागमा राहदानीको फारम पठाउने र त्यहाँबाट जिल्लामा ल्याएर वितरण गर्ने व्यवस्था मिलाउन लागेको प्रजिअ अधिकारीले बताउनुभयो । हाल पोखरा स्थित क्षेत्रीय प्रशासन कार्यालय हुदै राहदानीको आवेदन फारम बिभागमा पु¥याउने र सोही बाटो भएर जिल्लामा आउने प्रक्रिया रहेको छ ।

दु्रत सेवा मार्फत राहदानी लिनेहरुका लागि काठमाडौ जाने आउने समय र खर्चको बचत हुने प्रजिअ अधिकारीले बताउनुभयो ।

यसैबीच गत वर्ष म्याग्दीबाट दु्रत सेवा मार्फत राहदानी लिन एक हजार ४८६ जनाले बिभागमा जान सिफारीस लिएका थिए भने दुई हजार ६६७ जनाले साधारण प्रक्रियाबाट राहदानी सिफारीस लिएका छन् ।

राहदानी लिनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी भएको सहायक प्रजिअ लिलादेवी अर्यालले बताउनुभयो । गत आर्थिक वर्षमा एक हजार ३४६ जना महिला र एक हजार २३७ जना पुरुषले प्रशासनबाट राहदानी लिएका छन् । राहदानी सिफारीस गरेवापत प्रशासनले एक करोड ४६ लाख रुपैया राजस्व संकलन गरेको छ ।

यसैबीच प्रशासनले लगातार तिन वर्षसम्म नविकरण नभएका गैरसरकारी संस्थालाई यही साउन २० गतेसम्म तोकिएको समयसिमाभित्र नविकरण नगरे खारेज गर्ने भएको छ । बेनी जोमसोम सडकमा रहेको २६ सिटे गाडीको र राहदानी फारम भर्नका लागि गरिएको सिण्डीकेटको अन्त्य गरेको छ ।
सूचनाको हकको कार्यान्वयनका लागि प्रत्येक महिना बस्ने कार्यालय प्रमुखको बैठक अघि सूचना अधिकारीको बैठक बस्ने अभ्यास थालीएको छ ।

सरकारी सेवालाई जनमुखी, सरलीकरण र गुनासो रहित बनाउन चालु आर्थिक वर्षको लागि कार्ययोजना तयार पारिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

५ ठाउँमा एकिकृत घुम्ती शिवीर सञ्चालन गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, विकास आयोजनाको अनुगमन, स्थानीय तहसंग समन्वय गरेर मदिरा र लागु औषध नियन्त्रणका लागि अभियान चलाउने कार्ययोजना बनाइएको हो ।