सन्तोष गौतम/विकल्प न्यूज
साउन ८ गते । गलेश्वर– पिप्ले भगवती बेगखोला सडक अन्तर्गत पिल्ले खण्डमा हिलोमा फसेको स्कुटर र गाडी । तस्विर नवविकल्प
म्याग्दीका ग्रामिण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्याक खोलीएका र स्तरोन्नती भएका सडकमा बर्खासंगै सवारी अवरुद्ध भएका छन् ।
भिरालो जमिनमा जथाभावी रुपमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर खनिएका सडकका कारण बाढी र पहिरोको जोखिम बढेको छ । सडक बनाउने नाउमा जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेको बेनपा ६ अर्थुङ्गेका छवीलाल उपाध्यायले बताउनुभयो ।
“हिउँदभरी जथाभावी भित्तो भत्काइएयो, माटोको ब्यवस्थापन र संरक्षण गर्न ध्यान दिएनन्” उपाध्यायले भन्नुभयो “लाखौ खर्च गरेर बनाइएको सडक बर्खा लागेपछि हिलाम्मे बनेर गाडी त परै जावस पैदल हिड्न समेत समस्या छ । छेउछाउका बासिन्दा पहिरोको त्रासमा छन् ।”
बेनी नगरपालिकाले गत आर्थिक वर्षमा अर्थुङ्गे, थाकनपोखरी हुँदै भिरमुनी जोड्ने सडक डोजर परिचालन गरेर फराकीलो बनाइएको थियो । स्थानीय तहले सडकमा प्राथमिकता दिएर बजेट लगानी गरेपनि सर्वसाधारणले सेवा सुबिधा पाउन नसकेको धवलागिरी गाउँपालिका ७ ताकमका चिरञ्जीवी पौडेलले गुनासो गर्नुभयो ।
दरवाङ्ग–धारापानी–ताकम–मुना सडकको फेदी देखि दाँचौर सम्मको करिब पाँच किलोमिटर सडकमा यात्रा गर्दा एक सय २० रुपैयाँ तिर्नुपरेको पौडेलले गुनासो गर्नुभयो । “सरकार र जनताले लगानी गरेर बनाएको सडकमा यातायात व्यवासीले मनोमानी भाडा लिएका छन” पौडेलले भन्नुभयो ।
बर्खा लागेसंगै म्याग्दीको बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–बागलुङ बाहेकका सडकमा नियमित र सिधा सवारी अवरुद्ध बनेको छ । पहिरो खस्ने, हिलो जम्ने, भासीने समस्याले गर्दा ग्रामिण सडक अवरुद्ध बनेको यातायात ब्यवसायीले बताएका छन् ।
ग्रामिण सडकमा जोखिम मोलेर सवारी सञ्चालन गर्नुपरेको यातायात व्यवसायी खुमबहादुर थापाले बताउनुभयो । सरकारी निकाय, प्राबिधिक, जनप्रतिनिधि र उपभोक्ता समितिले गुणस्तरीय, दिगो र ब्यवस्थित रुपमा काम नगर्दा सडकमा भएको लगानी बालुवामा पानी हाले सरह भएको सर्वसाधारणको गुनासो छ ।
करोडौ खर्च गरेर बनाएको सडक एकै रातको बर्षाको भेलले तहसनहस बनाएको छ । नियमित सवारी सञ्चालन गर्ने लक्ष्य राखेर करिब तिस लाख खर्च गरी ग्रामिण सडक स्तरोन्नती गरेका बेनपा २ का वडा अध्यक्ष हिराबहादुर थापा बर्खा लागेसंगै सडक अवरुद्ध बनेपछि निराश बन्नुभएको छ ।
लाखौ खर्च गरेर बनाएको भनिएको सडकमा मोटरसाईकल समेत चलाउन नसक्ने भएको विषयमा गुनासो गर्दा वडा अध्यक्ष थापाले बर्खे भेलले बगाएको प्रतिक्रिया दिनुभयो । बेनी नगरपालिकाले गौरवको योजना मानेको पात्लेखेको सडक फराकीलो बनाउने क्रममा जमिनबाट निकालीएको माटोको व्यवस्थापन र संरक्षणको काम नहुँदा छेउछाउका बस्तीका घरहरु जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् ।
म्याग्दीमा करिब एक दशकसम्म काम गर्नुभएका गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयका उपसचिव दिवाकर पौडेलले प्राबिधिक अध्ययन बिना, जथाभावी रुपमा खनिएको सडकका कारण वातावरण बिनाससंगै प्राकृतिक विपद्को जोखिम बढाएको बताउनुभयो । पहाडी क्षेत्रका बस्ती, खेतीयोग्य जमिन र अन्य विकासका पूर्वाधार पहिरोले पुरीने, खोल्सा तथा नदीहरुमा बाढीको आयटन बढेर कटानको समस्या बढेको उहाँको भनाई छ ।
जिल्ला भुसंरक्षण कार्यालयले गरेको अध्ययन अनुसार म्याग्दीमा दुई हजार भन्दा बढी घरधुरी पहिरोको जोखिममा छन् । पहिरो र बाढीको मुख्य कारण ग्रामिण सडक बनेको छ । गत आर्थिक वर्षमा करिब सवा अर्ब बजेट खर्च गरेका म्याग्दीका छ वटा स्थानीय तहले सत्तरी करोड रुपैयाँको हाराहारीमा सडकमा लगानी गरेको जनाएका छन् ।
यस बर्षको निती तथा कार्यक्रम र बजेटमा पनि सबै स्थानीय तहले सडकलाईनै प्राथमिकता दिएका छन् । तर अधिकांश सडकमा बर्खासंगै सवारी साधन बन्द भएका छन् । सर्वसाधारण पैदल हिडेर गन्तब्यमा पुग्न बाध्य छन् । दैनिक उपभोग्य सामान ढुवानी, गाउँमा उत्पादन भएका कृषि उपजको निकासी र बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको छ ।
दक्ष प्राबिधिक जनशक्तिको कमी, कमजोर भुगोल, जनताको दवावका कारण सडक आयोजनाहरुलाई व्यवस्थित बनाउन चुनौती भएको जनप्रतिनिधिहरुको भनाई छ । बरंजा देखि गाउँपालिकाको केन्द्र बाबियाचौर जाड्ने नमुना सडक बनाएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मापदण्ड अनुसार बनाउन खोज्दा दक्ष प्राबिधिक समयमै नपाएको अनुभव सुनाउनुभयो ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले विकासको मूख्य आधार सडक भएकाले त्यसलाई दिगो र ब्यवस्थित बनाउन लागीएको बताउनुभयो । उहाँले गाउँपालिका क्षेत्रमा नयाँ निर्माण हुने र पुराना सबै सडकलाई दश मिटर फराकीलो तथा नाली सहितको बनाउने काम सुरु भएको बताउनुभयो ।
सडक डिभिजन बाहेकका निकायले उपभोक्ता समिति मार्फत निर्माण गर्ने अधिकांश सडकको सम्भाव्यता र प्राबिधिक अध्ययन हुँदैन् । डिपीआर समेत बनाउँदैनन । उपभोक्ता समितिले बिनियोजित बजेटको आधारमा काम गर्छन् । उनिहरुको ध्यान सडकमा नाली बनाउने, सोलीङ, ढलान गर्ने, फराकीलो बनाउने भन्दा पनी डोजर चलाएर बजेट सक्नतर्फनै केन्द्रित छ ।
धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले हेभी ईक्युभमेन्टको प्रयोगलाई व्यवस्थित बनाउन जनप्रतिनिधिहरुले नीतिगत रुपमा पहल गर्नुपर्ने बताउनुभयो । एकातर्फ बजेट खर्च भईरहने अर्को तफ उपलब्धि नहुने समस्यातर्फ सबै सचेत बन्नुपर्ने उहाँको भनाई छ ।
“एक करोड सम्मका योजना उपभोक्ता समिति मार्फत गर्न सकिने भनिए पनि उपभोक्तासंग दक्षता, उपकरण र सामाग्रीको अभाव हुने भएकाले अन्य प्रक्रिया अपनाउनेतर्फ सबैले सोच्नुपर्छ” अधिकृत शर्माले भन्नुभयो “जनश्रमदान समेत नजुट्ने समस्या छ । जनप्रतिनिधिहरुले प्राबिधिकहरुसंगै स्थलगत अनुगमन र नापचाज गरेर निगरानी बढाउनुपर्छ ।”
जिल्ला प्राबिधिक कार्यालय म्याग्दीका ईञ्जिनियर रवीन मर्हजनले सडक डिभिजन र विभिन्न आयोजना मार्फत सञ्चालीत सडक आयोजाको डिपीआर बनाएर काम सुरु गर्ने गरीएपनि ग्रामिण सडकमा बिबिध कारणले त्यसो हुन नसकेको बताउनुभयो । स्थानीय तहहरुले प्राथमिकता प्राप्त सडक छनौट गरेर सबैभन्दा पहिले डिपीआर बनाएर सोही अनुसार काम गर्नुपर्ने महर्जनको सुझाव छ ।
“पहिले डिपीआर बनाएर कति बजेट आवश्यक पर्छ, कहाँ कहाँ के गर्ने भन्ने योजना बनाएर बजेटको व्यवस्था गर्नुपर्छ, हामीकहाँ भैरहेको उल्टो अभ्यासले समस्या निम्त्याएको छ” ईञ्जिनियर मर्हजनले भन्नुभयो “डोजर चलाउने मात्र नभएर ग्रेड मिलाउने, नाली बनाउने, भल तर्काउने, माटो व्यवस्थापन, पर्खाल लगाउने विषयमा बढी जोड दिएमा सडकलाई दिगो, ब्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ ।” नवविकल्प साप्ताहिकमा प्रकाशित