रातोढुङ्गा सबस्टेशन निर्माण सुरु

विकल्प न्यूज/बेनी
साउन ४ गते । ratodhunga substation photo तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी

 म्याग्दीको पश्चिम भेगमा विद्युतिकरण विस्तारका लागि ११ केभीए क्षमताको वितरण सव स्टेशन निर्माण सुरु गरेको छ । जिल्लाको मालिका गाउँपालिका ६ रातोढुंगामा नेपाल विद्युत प्राधिकरणले विद्युत सवस्टेशन निर्माण गर्न लागेको हो । पर्वतको जलजला ४ मिलनचोकबाट १३२ केभीए प्रशासरण लाइन मार्फत रातोढुङ्गामा निर्माण गरिने सवस्टेशनमा जोडिने छ ।

सन २०१८ सम्म निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको एटु जेड ईञ्जियिरीङ कार्यक्षेत्रमा परिचालन भएर पूर्वाधार निर्माणको काम सुरु गरेको आयोजनाका प्रमुख बोधराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सबस्टेशन निर्माणका लागि करिब आठ करोड रुपियाँ ठेक्का सम्झौता भएको छ ।

पहिलो चरणमा भवन निर्माण सुरु गरेको ठेकेदार कम्पनीले सब स्टेशनका लागि आवश्यक उपकरण खरिद प्रक्रिया सुरु गरेको आयोजना प्रमुख ढकालले बताउनुभयो । सबस्टेशनसंगै पर्वतको जलजला ४ मिलनचोक देखि रातोढुङ्गा सम्म २२ किलोमिटर प्रशारण लाईन पनि निर्माण हुने भएको छ । सबस्टेशन निर्माण गर्न प्राधिकरणले तिन वर्ष अघि रातोढुङगामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

सबस्टेशन र प्रशारण लाईन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालिका र मंगला गाउँपालिकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । प्रशारण लाईन लामो दुरीको हुँदा विद्युत आपुर्तीमा समस्या देखिएको छ ।

यसै गरि विद्युत प्राधिकरणले मालिका गाउँपालिका ७ बिमको डाँडाखेतमा म्याग्दी र सहायक नदीहरुमा सञ्चालन हुने जलविद्युत आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्नका लागि सबस्टेशन निर्माणको तयारी गरेको छ । डाँडाखेतमा ५२ रोपनी जग्गा अधिग्रहण गरीसकेको प्राधिकरणले रघुगंगा ३ राहुघाटमा जग्गा अघिग्रहणको प्रक्रिया अघि बढाएको छ ।

डाँडाखेतदेखी राहुघाटसम्म १३२ केभीए क्षमताको केन्द्रिय प्रशारण लाईन पनि निर्माण हुने भएको छ । सब स्टेशन र प्रशारण लाईन बनेपछि म्याग्दी र सहायक नदीहरुमा निर्माणको प्रक्रियामा रहेका जलविद्युत आयोजनाले गति लिने अपेक्षा गरिएको छ ।