बिमको सोलार लिफ्ट प्रबिधिको खानेपानी आयोजना अन्तिमचरणमा

विकल्प न्यूज/बेनी
असार २६ गते । bima lift khapaniम्याग्दीको मालिका गाउँपालिका ७ बिममा सोलार लिफ्ट प्रविधिको खानेपानी आयोजना अन्तीम चरणमा पुगेको छ । वर्षौ देखिको खानेपानी समस्या हटाउनका लागि बिममा सोलार लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

गाउँपालिका अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत निर्माण हुन लागेको आयोजनाको आधा भन्दा बढी पूर्वाधार निर्माणको काम सकिएको उपभोक्ता समितिले जनाएको छ ।

ईन्टेक, सोलार जडान, शाखा र मूल्य पाईपलाईन, रिजर्भ टंकी निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना आगामी मंसिर सम्ममा सञ्चालनमा आउने उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुग्जालीले बताउनुभयो । आयोजनाका लागि आवश्यक पर्ने २२ किलोवाट विद्युत उत्पादन हुने एकसय ५ वटा सोलार प्यानल जडान गरिएको छ ।

एक करोड ४३ लाख एक हजार एकसय ७३ रुपियाँ लागत अनुमान गरिएको आयोजना वि.स २०७४ माघ देखि निर्माण सुरु भएको थियो । आयोजनाबाट साबिक बिम गाविसको १, २ र ३ नम्बर वडामा पर्ने नौरु, तल्लोगाउँ र अस्तवाङका एकसय ११ घरधुरी लाभान्वित हुने जनाइएको छ ।
बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेपानीको मुहानको पानी सौर्य उर्जाको सहायताले पम्पीङ गरेर जोगीबिसौनामा निर्माण हुने रिजर्भ टंकीमा पु¥याएर निजी धारा मार्फत घरघरमा वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष जुग्जालीले बताउनुभयो ।

बिबोटखोलाको मुहानदेखि जोगीबिसौना सम्मको उचाई २४० मिटर छ । नेपाल सरकार, फिनल्याड सरकार र गाउँपालिकाको अनुदानमा निर्माण हुने आयोजनामा उपभोक्ताको श्रम तथा बस्तुगत गरेर २७ लाख ६९ हजार सातसय १८ रुपियाँ बराबरको सहभागीता रहने परियोजनाले जनाएको छ ।

श्रमदान गरेर मुख्य र शाखा पाईपलाईन निर्माण गरेका बिमका बासिन्दाले आयोजना निर्माण भएपछि राहत मिल्ने अपेक्षा गरेका छन् । २ वटा ईन्टेक, ८ वटा पानी संकलन टंकी, ११९ धारा र ९ हजार ९०९ मिटर पाईपलाईन रहने परियोजनाले जनाएको छ ।