सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ असार ।गण्डकी प्रदेशको लाईफ लाईन घोषित राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको काममा भएको ढिलाईप्रति गण्डकी प्रदेश सरकारले असन्तुष्टि जनाएको छ ।
आयोजना मार्फत म्याग्दी र मुस्ताङ खण्डमा भैरहेको सडक स्तरोन्नतीको स्थलगत अनुगमन पछि मंगलबार बेलुकी बेनी नगरपालीका ९ गलेश्वरमा जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी र सरोकारवालाहरुसंगको अन्तरक्रियामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढिलासुस्तीप्रती असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
१८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत ११० किलोमिटरको जोमसोम–कोरला खण्ड स्तरोन्नतीको लागि वि.स २०७३ कात्तिक र ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक कालोपत्रेका लागि वि.स २०७४ असारदेखि काम सुरु भएको थियो ।
पाँच अर्ब भन्दा बढीको मित्रराष्ट्र चिनको सिमाना कोरला नाका जोड्ने ब्यापारीक महत्वको सडक आयोजनाको ११ वटा प्याकेज मध्य चार वटा प्याकेजमा निर्माण ब्यवसायीले अपेक्षाकृत काम गर्न नसकेको पाईएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
प्रदेशको समृद्धिसंग जोडिएको सडक आयोजनालाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन सम्बद्ध अधिकारी र व्यवसायीलाई निर्देशन दिनुभएका मुख्यमन्त्री गुरुङले संघीय सरकारलाई पनी समस्याको बारेमा जानकारी गराउने बताउनुभयो ।
प्रदेशमा सञ्चालीत राष्ट्रिय गौरवका आयोजनालाई गति दिन र देखिएका समस्या समाधानका लागि सहजिकरण गर्न स्थलगत अनुगमन सुरु गरेको सरकारका प्रवत्ता समेत रहनुभएका आन्तरीक मामीला तथा कानुन मन्त्री हरिबहादुर चुमानले बताउनुभयो ।
प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई जोड्ने सडकलाई कालोपत्रे र ग्राभेल गर्ने योजनालाई प्राथमिकताका साथ आर्थिक वर्षमा बजेट बिनीयोजन गरेको मन्त्री चुमानले जानकारी दिनुभयो । स्थानीय तह, सम्बद्ध कार्यालय, जनप्रतीनिधि र संघीय सरकारसंग समन्वय र सहजीकरण गरेर बजेट बिनियोजन भएका योजनाहरुको सहज कार्यान्वयनमा जोड दिएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री गुरुङ र मन्त्री चुमानको टोलीलाई प्रदेशसभा सदस्य बिनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, पूर्व सांसद नवराज शर्मा, गोविन्द पौडेल, प्रजिअ लिलाधर अधिकारी, नेकपाका नेता हरिकृष्ण श्रेष्ठले म्याग्दीको विकास निर्माणको अवस्था, आवश्यकता, समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।