गाउँपालिकाद्धारा तिप्ल्याङ “दुर्घटना”को छानवीन र वेपत्ताको खोजी गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ असार ।

jeep accident-1
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दश दिन अघि बेनी जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डमा रहस्यमय ढङ्गले भएको दुर्घटनाको छानवीन र वेपत्ताको खोजी गर्न माग गरेको छ ।

असार १४ गते दिउँसो अन्नपूर्ण गाउँपालिका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा सडकबाट कालीगण्डकीमा खस्दा वेपत्ता भएका भनिएका चालक बेनी नगरपालिका– ९ का ३१ वर्षिय रवी (इन्द्र बहादुर) खड्का असार २० गते सम्र्पकमा आएपनी उनले चलाएको जिपमा सवार घराम्दीकी २० वर्षिया सबिता नेपाली वेपत्ता छिन् ।
अन्नपूर्ण गाउँपालिकाको शुक्रबार सकिएको चौथो गाउँसभापछि बसेको कार्यपालीका बैठकले वेपत्ता नागरीकको अवस्था पहिचान, खोजी, निष्पक्ष अनुसन्धान, छानवीन र दोषीलाई कानुन अनुसारको कारबाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई आग्रह तथा अपिल गरीएको वडा अध्यक्ष गमबहादुर फगामीले बताउनुभयो ।

बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएपछि कालीगण्डकीमा जिप खस्यो की ? खसाईयो ? भन्ने विषयप्रती चासो बढेको छ । यो घटनाले वि.स २०५० मा चितवनको दासढुङ्गामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रीत सवार गाडी त्रिशुलीमा खसेको घटनालाई झल्को दिएको छ ।

भण्डारी र आश्रीतको निधन भएपनि चालक निर्मल लामा जिवतै भएको घटना नेपाली राजनीतिको इतिहास छ । कालिगण्डकीमा खसेको जिप करिब पाँच सय मिटर तल बेगखोलामा असार १५ गते भेटिएको थियो । जिपसंगै नदीमा खसेका दुवै जनालाई बगाएर बेपत्ता बनाएको सामान्य अनुमान विपरीत छ दिनपछि खड्का फिल्मी शैलीमा पोखराबाट प्रहरीको सम्र्पकमा आएका हन् ।

खड्काले प्रयोग गर्दै आएको मोवाईल ट्यागीङ गर्दा पोखरामा रहेको देखिएपछि आफन्तको सहयोगमा प्रहरीको सम्र्पकमा आएका खड्कालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रनाउ बिरबहादुर बुढाले बताउनुभयो । चालक सकुशल सम्र्पकमा आएपछि प्रहरीको अनुसन्धान रवी र सबिताको सम्बन्धतर्फ केन्द्रित भएको छ ।

खड्काले प्रहरीलाई गाडी अकस्मात दुर्घटनामा परेपछि आफु खोलामा उछिट्टीएको र पौडी खेलेर बाहीर निस्कीएको बयान दिएका छन् । पौडी खेलेर नदीबाट निस्केपछि सडक मुनिको भिरमा साँझ परिञ्जेल लुकेर बसी राती गलेश्वर, पर्वत बगरफाँट हुदै पोखरा पुगेको खड्काले बताएका छन् ।
खड्काले घराम्दीबाट पोखरा जाने यात्रु भएको भनेर आफूलाई बोलाएर भेला भएका गाउँलेले नेपालीलाई गर्भवती बनाएको आरोप लगाएको बताउँदा छागाबाट खसेजस्तै भएको बयान दिएका छन् । छलफलका क्रममा नेपालीको पेटमा रहेको गर्भलाई स्वीकार गरेका खड्काले नेपालीलाई संगै लिएर जाने बताएका थिए ।
घराम्दीबाट बेनीतर्फ हिड्ने क्रममा संगै आउन खोजेका आमा समूह र नेपालीका आफन्तलाई गाडी फर्काएर आउँछु भन्दै हिडेका खड्का गाडी कुदाएर सबितालाई मात्र लिएर गएको पिडितले दिएको जाहेरीमा उल्लेख छ । खड्काका तिन छोराछोरी छन् । अबिवाहीत नेपाली पाँच महिनाको गर्भवती भएको स्थानीयले बताएका छन् ।

खड्काले दुर्घटना भएर संयोगले आफू बाचेको दावी गरेका छन भने नेपाली र घराम्दीका बासिन्दाले नियतबस गाडीसंगै नेपालीलाई कालीगण्डकीमा खसालेको दावी गरेका छन् ।